• १२ मंसिर २०८१, बुधबार

वन्यजन्तुलाई खानेपानीको सुविधा

blog

नवीन शिशिर विक

बागलुङ, फागुन १ गते । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुलाई खानेपानी सुविधाका लागि वनमै पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय बागलुङले ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रमअन्तर्गत पोखरी निर्माण अभियानलाई तीव्र बनाएको छ। 

पानीको स्रोत संरक्षण, जङ्गल तल रहेका पानीको मुहान ‘रिचार्ज’ बढाउने तथा जङ्गली जीवजन्तुलाई पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत एक सामुदायिक वन एक संरक्षण पोखरी निर्माण अभियान थालेको डिभिजन वन कार्यालय प्रमुख मुकुन्दप्रसाद अधिकारीले बताउनुभयो। 

गण्डकी प्रदेश सरकारको सहयोगमा कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा पाँच र आ.व २०७८/७९ मा छवटा गरी कुल ११ वटा पानी पोखरी निर्माण सम्पन्न गरेको छ। चालू आवमा छवटा पोखरीका योजना स्वीकृत भएका छन्। 

सो कार्यालयले चालू आवमा जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, काठेखोला गाउँपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र गलकोट नगरपालिकामा एक–एकवटा पोखरी निर्माणको योजना बनाएको छ।  यो अभियानको पहिलो वर्ष पाँच लाख ६५ हजार रुपियाँ लागनमा बडिगाड गाउँपालिका–४को ठूलो वन सामुदायिक वन, बागलुङ नगरपालिका–१० को हीराताल पर्यटकीय सामुदायिक वन, तमानखोला गाउँपालिका–२ को रानी वन सामुदायिक वन, बरेङ गाउँपालिका–२ को चियापानी, बागलुङ नगरपालिका १३ र १४ को भुल्केमूल धैरेनी तथा ढोरपाटन नगरपालिका–४ को सिनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिनुभयो। 

गत वर्ष पोखरी निर्माणका लागि प्राप्त १० लाख रुपियाँमध्ये आठ लाख ३० हजार लागतमा बरेङ गाउँपालिका–२ को पधेराडाँडा महिला सामुदायिक वन, बागलुङ नगरपालिका–३ को रात्माटा सामुदायिक वन, गलकोट नगरपालिका–७ को लाम्दारा सामुदायिक वन, काठेखोला गाउँपालिका–५ को शिवधुरी सामुदायिक वन र बागलुङ नगरपालिका–७को तितौरे सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। 

पोखरी निर्माणका लागि छनोटमा परेका प्रत्येक सामुदायिक वनलाई एक लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। सो रकमबाहेक थप दस प्रतिशत रकम उपभोक्ताको साझेदारीमा लगानी हुन्छ। उपभोक्ता र कार्यालयको साझेदारीमा सामुदायिक वनमा पोखरी निर्माण गरिँदै आएको छ। 

मुहान नजिक पोखरी निर्माण गर्ने अवस्था नभए पाइपमार्फत पानी लगेर पोखरीमा जम्मा गर्ने गरेको वन कार्यालय बडिगाडका प्रमुख दीपक श्रीसले जानकारी दिनुभयो। 

वन क्षेत्रमा पानीको सतह सुक्दै जान थालेपछि वन्यजन्तु सामुदायिक वन छाडेर पलायन हुने अवस्था आएपछि पानी पोखरीको व्यवस्थापन गर्न थालेको हो। पानीको अभावमा सामुदायिक वनबाट लोप हुँदै गएका जीवजन्तु र चराचुरुङ्गी जोगाउनका लागि पोखरी निर्माणको अभियान सहयोग बन्ने अपेक्षा गरिएको छ।

सामुदायिक वनको जैविक विविधता जोगाउन र जीवजन्तुको बासस्थान सुरक्षा गर्नका लागि पोखरी निर्माण अभियान सहयोगी बन्नेछ। जङ्गल झाडीका रूपमा विकास हुँदा वन्यजन्तु आहारा र पानीको खोजीमा मानव बस्तीमा प्रवेश गर्ने गरेको बताइएको छ।