• २० वैशाख २०८१, बिहिबार

उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित

blog

कावासोती, माघ २९  गते । उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मङ्सिर  १३ गतेदेखि सो  सेवा निःशुल्क थालनी गरेको थियो ।

अस्पतालमा हाल चार डायलायसिस गर्ने उपकरण छन् । तीमध्ये एक उपकरण ‘रिजर्भ’मा राखेर तीन मात्रै उपकरण सञ्चालनमा रहेर हाल नौ जनाले नियमित डायलायसिस सेवा लिइरहेका  अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिर्गौला रोगीले हप्तामा कम्तीमा दुईपटक डायलायसिस गर्नुपर्ने हुन्छ । हाल अस्पतालले नौ  जनालाई प्रदान गरेको सेवा आन्तरिक स्रोतबाट भर्पाइ भइरहेको र डायलायसिस सेवा सूचीकरण नहुँदा उक्त खर्चको सरकारबाट भर्पाइ हुन नसकेको उहाँले बताउनुभयो ।

सेवा सूचीकरणका लागि  पाँच डायलायसिस उपकरण आवश्यक पर्छ । तर थप एक उपकरण खरिदका लागि स्रोत सुनिश्चितता नहुँदा अस्पताल सूचीकरणसमेत हुन नसक्ने अवस्थामा रहेको डा. कँडेलले बताउनुभयो । हालको अवस्थामा सेवालाई दुई सिफ्टमा सञ्चालन गरेर १८ जनासम्मको डायलायसिस गर्न सकिने भए पनि जनशक्ति र खर्चको व्यवस्थापन नहुँदा नौ जनाभन्दा धेरैलाई सेवा दिन नसकिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा डायलायसिस सेवाका लागि हालसम्म थप ८० जना मिर्गौला रोगीले नाम लेखाएको जनाइएको छ । तर उपकरण र जनशक्तिको अभावमा थप बिरामीलाई सेवा प्रदान गर्न अस्पताल असमर्थ छ ।यसका कारण सेवा लिन चितवन र काठमाडौँ पुग्नुपर्ने मिर्गौला रोगीहरूको  बाध्यता छ ।

मेडिकल सुपरिटेण्डेन्ट डा कँडेलका अनुसार जिल्ला अस्पतालले पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि जिल्लाका स्थानीय तहहरूसँग सहयोग मागेको छ । पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि स्थानीय तहसँग सहयोग मागेको र कावासोती नगरपालिकाले रु १५ लाख विनियोजन गरेको छ भने  मध्यबिन्दुमा पनि केही रकम छुट्टिएको जानकारी आएको मेडिकल सुपरिटेण्डेन्ट कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा एक सय जनाको आसपास डायलासिस गर्नुपर्ने बिरामी छन् । अस्पतालमा कम्तीमा १० उपकरणमार्फत दुई सिफ्टमा सेवा प्रदान गर्न सके सेवा प्रवाह प्रभावकारी र सेवाग्राहीका लागि सहज हुने भएकाले केन्द्र, प्रदेश र स्थानीय सरकारबाट आवश्यक स्रोतको सुनिश्चितता हुनुपर्ने उहाँले माग गर्नुभयो ।