• १२ मंसिर २०८१, बुधबार

सौराहामा नमुना सडक निर्माण सुरु

blog

चितवन समाचारदाता

चितवन, माघ २९ गते । चितवनको सौराहा क्षेत्रलाई सुन्दर पर्यटकीय नगरी बनाउन नमुना सडक निर्माण अगाडि बढेको छ । 

सौराहाको सीमित क्षेत्रमा मात्र विकास भएकाले सँगैका अन्य स्थानमा पनि पर्यटकीय गतिविधि वृद्धि गर्न नमुना सडक अवधारणा ल्याइएको हो । सौराहाको मुख्य राप्ती नदीको पूर्वतर्फ साइकल लेनसहितको नमुना सडक निर्माण सुरु भएको रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिनुभयो । 

१४ करोड १० लाख रुपियाँको लागतमा एक हजार पाँच मिटर नमुना सडक निर्माण गरिने प्रमुख सापकोटाले जानकारी दिनुभयो । सडक निर्माणका लागि सङ्घ सरकारको लगानी छ । सौराहाको राप्ती ड्यामदेखि हर्नहरि पुलसम्म निर्माण हुने सडक १५ मिटर चौडाइको रहनेछ । कालोपत्रेसँगै साइकल लेन, फुटपाथ र ढल निर्माण हुनेछ । सौराहाको पर्यटन विकासका लागि केन्द्र सरकारसँग पहल गरेर नमुना सडकका लागि बजेट पारेको नगरप्रमुख सापकोटाले बताउनुभयो । २० वर्षदेखि सौराहाको विकास एकै प्रकारको भएको र नयाँ परिवर्तनको अनुभूति नभएकाले नयाँ योजना ल्याएको उहाँले जानकारी दिनुभयो । 

बाढी तथा कटानबाट सौराहालाई जोगाउन यस क्षेत्रमा ‘फेब्रिक ट्र्याक’ निर्माण गरिएको छ । ट्र्याकपछि नमुना सडक निर्माण सुरु गरिएको हो । सौराहाबाट पूर्वतर्फ झुवानीमा ‘वाटर किङ्डम’ निर्माण सुरु भइसकेको भन्दै सापकोटाले बूढी राप्तीमा चित्रसारीदेखि सौराहा जोड्न तीन करोड ९५ लाख रुपियाँको लागतमा ‘सिग्नेचर’ पुल निर्माणका लागि सर्भे पूरा भई ठेक्का प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । 

सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले नमुना सडक निर्माण सुरु गरेको हो । आयोजना निर्माणको जिम्मा लोहनी–लोहनी एन्ड सन्स–हेमन्त जेभी निर्माण कम्पनीले पाएको छ । गत मङ्सिर २८ गते सम्झौता भएको आयोजना २०८१ जेठ २८ सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । नमुना सडक निर्माणले सौराहाको पर्यटनलाई कुमरोज हुँदै लोथरसम्म जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने वडा नं. ६ का वडाध्यक्ष किरण महतोले बताउनुभयो । 

सौराहामा एक हजार पाँच सय जना क्षमताको अन्तर्राष्ट्रियस्तरको सौराहा सभा हल निर्माणको अन्तिम चरणमा छ । पर्यटकीय क्षेत्र भए पनि यहाँ ठूला कार्यक्रम गर्नुपर्दा भरतपुर, नारायणगढ आउनुपर्ने तथा टाँडीका पार्टी प्यालेसमा जानुपर्ने अवस्था थियो । बाघमारा मध्यवर्ती वन क्षेत्रमा निर्माण हुने ‘क्यानोपी’ जमिनबाट माथिल्लो उचाइमा झोलुङ्गे पुलजस्तै रुखमा अड्याएर हिँड्ने मार्ग निर्माण गरिनेछ । यसले पर्यटकलाई आकर्षित पार्ने बाघमारा मध्यवर्ती वनका अध्यक्ष जितु गुरुङले बताउनुभयो ।