• १३ साउन २०८१, आइतबार

रेशम चौधरीको घरमा मुख्यमन्त्री शाह

blog

रेशम चौधरीको घरमा पुग्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ।

धनगढी, माघ २८ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहनुभएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट गर्नुभएको छ ।

शुक्रबार साँझ मुख्यमन्त्रीको पदभार ग्रहण गरेको भोलिपल्ट कैलालीको जानकी–९ जगतपुरस्थित चौधरीको घरमै पुगेर परिवारका सदस्यलाई भेटघाट गर्नुभएका मुख्यमन्त्री शाहले रेशम लगायतालाई जेलमुक्त गराउन आफू लागिपर्ने आश्वासन दिनुभयो ।

उहाँले उक्त घटनालाई राजनीतिक रूपमा नै समाधान खोजिनुपर्ने बताउनुभयो।रेशम चौधरीकी ६८ वर्षीया आमा सुनफीदेवी चौधरीबाट आशीर्वाद लिँदै मुख्यमन्त्री शाहले भन्नुभयो, “म पनि तपाईँको छोरा हो।चिन्ता नलिनुहोला।रेशमजीलाई छुटाउने म अथक प्रयास गर्नेछु ।” 

मुख्यमन्त्री शाहलाई आशीर्वाद दिँदै सुनफीदेवीले भन्नुभयो, “आफूले सानो छँदा खेलाएको स्मरण गर्दै आफ्नो छोरा रेशमलाई पनि जेलबाट छुटाएर यसरी नेता भएर आएको देख्न मन छ ।”

मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने रेशमका सहोदर भाइ प्रकाश चौधरीलाई आश्वासन दिनुभयो।

टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस् पुगेको उहाँको भनाइ थियो।मुख्यमन्त्री शाहले भन्नुभयो, “टीकापुर घटनाले यस क्षेत्रको हरेक कोणबाट बदनाम गर्ने काम भइरहेको छ।वर्षौँदेखि मिलेर बसेको समाजमा फाटो ल्याउने काम भइरहेको छ।अब त्यो तपाईँ हामी सबैले बुझ्नुपर्छ।सबै सजग हुनुपर्छ ।”

मुख्यमन्त्री शाहले आजै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सङ्घीय सांसद रञ्जिता श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ।टीकापुरस्थित सिद्धार्थ होटलमा भएको भेटघाटमा वर्तमान राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको मुख्यमन्त्रीका सचिवालय प्रमुख रामबहादुर विष्टले बताउनुभयो।



शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।जसका लागि २७ सांसदको समर्थन चाहिन्छ।यसअघि नेकपा (एमाले) नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो।शाहले विश्वासको मत पाउने दाबी गरिरहनुभएको छ।उच्चस्तरीय भेटघाटको लागि मुख्यमन्त्री शाह आजै काठमाडौं जानुभएको छ।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र एक जना सांसदको समर्थन पाउने विश्वास व्यक्त गर्दै आउनुभएको छ।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक नौ, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एकजना सांसद छन्। रासस