• १३ साउन २०८१, आइतबार

सीमापार अपराध नियन्त्रणका लागि सुझाव

blog

जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित अन्तरक्रियामा जनप्रतिनिधि र प्रहरी तथा प्रशासनिक नेतृत्व । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, माघ २८ गते । बाँकेका निर्वाचित सांसद तथा स्थानीय तहका पदाधिकारीहरूले जिल्लाको समग्र शान्ति सुरक्षाको सुधारका लागि सीमा क्षेत्रमा हुने चोरी तस्करीलगायतका अन्य अपराध नियन्त्रणका लागि पहल गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् । 

नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले शनिबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजना गर्नुभएको परिचयात्मक कार्यक्रममा बाँके क्षेत्र २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणाले सीमापार अपराध नियन्त्रण जिल्लाको समग्र शान्ति सुरक्षासँग जोडिएको भन्दै सीमापार अपराधलाई प्रमुख चुनौतीको रूपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वबाट प्रहरी प्रशासनलाई कुनै खालको अनावश्यक दबाब हुने छैन, तर प्रहरी आफू पनि इमान्दार हुन आवश्यक छ ।” पछिल्लो समय भारतीय पर्यटकको हबको रूपमा नेपालगञ्ज फस्टाएको भन्दै भारतीय पाहुनाको सीमा क्षेत्रमा उचित सम्मान हुनुपर्नेमा जोड दिनुभयो । 

प्रदेश सभा सांसद आदेश अग्रवालले खुला सीमाका कारण लागूऔषध प्रमुख समस्याको रूपमा देखिएको भन्दै नेपालगञ्जमा अधिक रूपमा रहेका ई–रिक्साको व्यवस्थापन जरुरी भएको बताउनुभयो । 

भण्डारीलाल यादव र मिना श्रेष्ठले खुला सीमाका कारण हुने अपराध अन्य अपराधसँग पनि जोडिएका कारण प्रहरीले इमान्दारिताका साथ काम गरेमा अन्य अपराध पनि स्वतः नियन्त्रणमा आउने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले प्रहरी र स्थानीय नियमित समन्वय र सहकार्यमा रहेमा मात्रै स्थानीय सरकारले उपलब्धिमूलक काम गर्न सक्ने बताउनुभयो । 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी राईले लागु औषध सबैतिर प्रमुख समस्याको रूपमा रहेको भन्दै सीमापार अपराधलगायत सबैखाले अपराध नियन्त्रणका लागि प्रहरीले सबैपक्षसँग हातेमालो गरिरहेको बताउनुभयो । 

प्रहरीभित्र गलत काम गर्ने जो भए पनि कारबाहीको भागिदार हुने भन्दै उहाँले लुम्बिनी प्रदेशमा अपराधको वर्गीकरण गरेर फागुनदेखि विशेष योजनासहित नियन्त्रण र न्यूनीकरणको काम थालिने बताउनुभयो ।