• १३ साउन २०८१, आइतबार

सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुन्छौँ : मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा दाङको भालुवाङमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्नुहुँदै। तस्बिरः भरत केसी, रासस

दिवाकर पोख्रेल

देउखुरी, माघ २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुनिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री शर्माले वर्तमान सरकार बढीभन्दा बढी सहमतिकै आधारमा काम गर्न खोजेकाले राष्ट्रपति सहमतिकै आधारमा टुङ्गो लाग्ने बताउनुभएको हो । 

प्रधानमन्त्रीलाई विश्वासको मत मिलेको हिसाबले पनि राष्ट्रिय सहमति खोज्नुपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जून हिसाबले प्रधानमन्त्रीलाई विश्वासको मत मिल्यो, त्यसमा सबैको सहमति गरेर जानुपर्छ भन्ने लागेको छ, त्यसैले प्रधानमन्त्रीले राष्ट्रिय सहमति गरौँ भन्नुभएको हो ।”

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने पहल भइरहेको बताउनुभयो । सरकार राष्ट्रिय सहमतिकै अवस्थामा रहेकाले कसैलाई पनि सरकारबाट बाहिर राख्न नचाहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्नु सकारात्मक अवस्था नरहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “रविजीको बारेमा अदालतले निर्णय गरेकाले परिस्थिति केही भिन्न भयो, मिलाएर जानुपर्ने अवस्था छ, गृह मन्त्रालय नै चाहियो भनेर अडान लिनु भएन ।” मन्त्री शर्माले मिडियासँग सम्बन्धित विभिन्न ऐनहरू बन्नेक्रममा रहेकाले सम्बन्धित सरोकारवालाले उचित सल्लाह सुझाव दिन पनि आग्रह गर्नुभयो । सूचना प्रविधि ऐन, प्रेस काउन्सिल ऐन, लगायतका ऐनहरू छलफलकै क्रममा रहेकाले सम्बन्धित पक्षको उचित सल्लाहको आवश्यकता रहेको बताउनुभयो ।

अहिलेसम्म पुरानो ऐनबाट चल्नुपर्ने अवस्था रहेको जानकारी दिँदै उहाँले समय सुहाउँदो ऐनहरू ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अहिले पुरानो ऐनबाटै चल्नुपरेको छ, नयाँ ऐन बनाउँदा यहाँहरू पत्रकारको सहयोग आवश्यक छ, सुझावको अपेक्षा गरेका छौँ ।” 

पछिल्लो समय अनलाइन मिडिया बढ्दै गइरहेको भए पनि अनलाइन मिडियालाई व्यवस्थित बन्ने कानुन निर्माणको आवश्यकता रहेको उहाँको भनाइ छ । सबै मिडियालाई व्यवस्थित गर्नुपर्छ भन्ने सरकारको मान्यता भएको भन्दै मोफसलका मिडियालाई पनि उचित सेवा सुविधा उपलब्ध गराउने गरी कानुन निर्माण गर्न थालेको मन्त्री शर्माले बताउनुभयो ।  

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले ढुक्कका साथ पत्रकारिता गर्न र सरकारलाई खबरदारी गर्न मिडियालाई आग्रह गर्नुभयो । 


नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले दाङमा मन्त्री शर्मालाई स्वागत सम्मान गर्दै । तस्बिर : दिवाकर पोख्रेल