• १३ साउन २०८१, आइतबार

राष्ट्रियतामाथि चौतर्फी आक्रमण भइरहेको छ : मन्त्री लिङ्देन

blog

राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङ्देन ।

काठमाडौं, माघ २८ गते। ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताउनुभएको छ। 

शनिबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी सङ्गठनको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका मन्त्री लिङ्देनले चौतर्फी रूपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा अहिले शीर्ष दलका नेताले नै भन्ने गरेको बताउनुभयो। 

उहाँले नेपालको निर्णायकत्व नेपालीको हातमा नभएको कुरा शीर्ष नेताले बताउँदै आएको भन्दै अबको विद्यार्थी सङ्गठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थी राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्ने बताउनुभयो। 

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी सङ्गठन गुण्डा उत्पादन, हुल्लर अनुशासनहीन उत्पादन गर्ने सङ्गठन नभई देशभक्त उत्पादन गर्ने सङ्गठन भएको बताउनुभयो। उहाँले आफ्नो पार्टीले देशको बारेमा कसैसँग सम्झौता नगर्ने दाबी गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘आज चौतर्फी रूपमा हाम्रो राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको छ भनेर राजेन्द्र लिङदेनले होइन, ठूला पार्टीका नेताले भन्ने गरेका छन्। नेपालको निर्णायकत्व नेपालीको हातमा छैन भनेर कहिले काहीँ तपाईँले सुन्नुभएको छ। त्यो चिजप्रति खबरदारी गर्न सक्नुपर्छ। हामीले यो विद्यार्थी सङ्गठन सशक्त रूपमा अघि बढोस् भन्ने चाहना छ। विद्यार्थीमा राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्छ। यो गुण्डा उत्पादन, हुल्लर अनुशासनहीन उत्पादन गर्ने सङ्गठन होइन, यो देशभक्त उत्पादन गर्ने सङ्गठन गर्ने हो। यो सङ्गठनका व्यक्ति एक्लो उभिन तयार छ, देशको बारेमा कसैसँग सम्झौता गर्दैन।’’

मन्त्री लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी सङ्गठनको अध्यक्ष मास्टर अध्ययनरत विद्यार्थी हुनुपर्ने भन्दै सङ्गठनको महाधिवेशन थाल्न विद्यार्थी नेतालाई आग्रह गर्नुभयो। उहाँले विद्यार्थी नेता स्थानीय तहदेखि प्रदेश र सङ्घमै निर्वाचन लड्ने भए पनि पार्टीले सहयोग गर्न तयार रहेको बताउनुभयो। उहाँले अधिवेशनको तयारी अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताउनुभयो। 

उहाँले काठमाडौं केन्द्रित राजनीति गरेर मात्रै नेता नहुने जिकिर गर्नुभयो। उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्य हुँ भन्नेलाई अनुशासनहीन हुने छुट नरहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी सङ्गठन विश्वविद्यालयका प्राध्यापकलाई कालोमोसो दल्ने र ताल्चा लगाउने सङ्गठन नहुने बताउनुभयो।