• १३ साउन २०८१, आइतबार

राज्य संरचनामा नयाँ प्रविधिलाई बुझ्ने मान्छे हुनुपर्छ: अध्यक्ष राउत

blog

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत ।

काठमाडौं, माघ २८ गते। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँ नयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताउनुभएको छ।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ-नयाँ कुरालाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताउनुभएको हो। 

उहाँले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको विस्तार गर्न सहज हुने बताउनुभयो। उहाँले राज्यले कुनै पनि प्रकारका प्रविधिको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। 

प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने ? सुरक्षा नीति के हुने ? लगायतको विषयमा विशेष रूपमा ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो। उहाँले प्रविधिको प्रयोग गर्दैगर्दा त्यसको सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो,‘‘राज्यका संरचनामा सबभन्दा पहिला बुझ्नसक्ने मान्छे हुनुपर्छ। हामीकहाँ उदाहरण छन् छिमेकी मुलुकमा कम्प्युटर प्रयोग गर्न हुन्न भन्नेखालको अभिव्यक्ति दिने व्यक्ति प्रदेशको शीर्षस्थ स्थानमा हुनुहुन्थ्यो। यो किन हुन्छ भन्दाखेरी सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिँदा हास्यास्पद स्थिति पनि हामीले देख्ने गरेका छौँ। त्यो भएर सकेसम्म राजनीतिक ठाउँमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भयो भने प्रविधिको विस्तार गर्न सहज हुन्छ। अहिलेसम्मको सरकारमा केही हदसम्म होला। केही हदसम्म नहोला। अर्को कुरा राज्य संयन्त्रले कुनै पनि प्रविधि एडप्ट गर्दाखेरी पक्कै पनि धेरै कुरा सोच्नुपर्ने हुन्छ।’’ 

उहाँले सूचना र प्रविधिको आजको युगमा किताबमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गर्नुभयो। विज्ञान, प्रविधिको प्रयोग तथा विस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने उहाँले बताउनुभयो।