• १४ मंसिर २०८१, शुक्रबार

माओवादी पार्टीको भविष्य उज्ज्वल छ : प्रधानमन्त्री प्रचण्ड

blog

नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधनमन्त्रीको सचिवालय

काठमाडौं, माघ २८ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्ज्वल भएको बताउनुभएको छ ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ । यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ । एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ । पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनैपर्छ ।”

“सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता हो। यो लक्ष्य हासिल गर्न सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानुपर्छ” प्रधानमन्त्रीले भन्नुभयो, “पार्टीको स्थायी समिति बैठकले सरकारलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ । पार्टीको दुई महिने सङ्गठनात्मक अभियान चलाउँदछौँ । जनता र कार्यकर्ताका कुरा सुनेर आउन भनिएको छ । अर्कोतिर पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेका छौँ । सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्छौँ, तत्काल एकता सम्भव नहुने पार्टीहरूसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्छौँ ।”

उहाँले थप्नुभयो, “अहिले पनि अप्ठ्याराहरू छन्, चुनौतीहरू छन् । ती सबैलाई हामी छिचोल्छौँ र अगाडि बढ्छौँ । अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ । देशको वैकल्पिक शक्ति हामी नै हौँ भन्ने तथ्य परिणामबाट पनि स्थापित हुन्छ । त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्ज्वल नै देखिरहेको छु, हामी फेरि उचाइका साथ अघि बढ्छौँ ।”


माओवादी नेतृत्व नै सर्वमान्य नेतृत्व

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस २६ को प्रतिनिधिसभामा जुन विश्वासको मत प्राप्त भयो। त्यो इतिहासकै अभूतपूर्व रह्यो । त्यसले माओवादी आन्दोलनप्रति न्याय भएको छ, यसको नेतृत्वप्रति न्याय भएको छ । त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनको नीति र नेतृत्वलाई प्राप्त मत हो । यसले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गप्रति पनि न्याय भएको मैले महसुस गरेको छु ।”

प्रचण्डले भन्नुभयो, “संसदमा झण्डै शतप्रतिशत मत प्राप्त गर्नु सामान्य कुरा होइन । यसको ऐतिहासिक महत्त्व छ । भोलि कसरी जान्छ अहिल्यै भन्न सकिँदैन । तर, एउटा इतिहास त लेखियो । यसलाई कसैले मेट्न वा उल्टाउन सक्दैन । त्यसले के प्रमाणित गरेको छ भने माओवादी नेतृत्वले मात्र देशलाई एकताबद्ध गर्नसक्छ, सबै दलहरूलाई मिलाएर लैजान सक्छ । माओवादी नेतृत्वले मात्र राष्ट्रिय सहमति कायम गर्न सक्छ । त्यसैले हाम्रो आन्दोलन र नेतृत्व देशको सर्वमान्य भएको छ ।”

उत्पीडितहरू नजागी कसैले दयाले अधिकार दिँदैन

बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले आफ्नो अधिकार प्राप्तिका लागि उत्पीडितहरू नै अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो ठूलो आन्दोलन र बलिदानी ग¥यौँ । त्यसको बलमा धेरै अधिकार प्राप्त भएका छन् । त्यो पर्याप्त छैन, तर ती केही पनि होइनन् भन्ने होइन । अहिले फेरि परिवर्तन विरोधी शक्तिहरू जनताका अधिकार कुण्ठित गर्न लागिरहेका छन् । उत्पीडितहरू आफै नजागी, आफै अग्रसर नभईकन दयाले कसैले अधिकार दिँदैन ।”

“दलित समुदायको सङ्घर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव थिएन। नेपालको क्रान्तिकारी आन्दोलनमा दलितहरूको महत्त्वपूर्ण छ” प्रधानमन्त्रीले भन्नुभयो, “शान्तिप्रक्रियामा आएपछि हाम्रो विचार र संस्कृतिमा स्खलन, हिजोका क्रान्तिकारी निर्णय र संस्कारबाट हामी पछाडि फर्केजस्तो अनुभूति हुन्छ । प्रगतिशील संस्कारहरू मिचिएका छन् । सामन्ती पितृसत्तात्मक सोच ब्यूतिन खोज्दैछ, पुरानो वर्ग र सत्ता आफू फेरि हाबी हुन कोसिस गरिरहेको छ । यसलाई रोक्न उत्पीडितहरू जागरूक हुनैपर्छ । आफ्नो अधिकार प्राप्तिका लागि योगदान गर्ने पार्टी, नीति र नेतृत्वको पक्षमा उभिनुपर्छ ।”

बैठकमा प्रधानमन्त्रीले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितहरूका माग र मुद्दा सम्बोधन गर्न सरकारले उच्च प्राथमिकता दिनेसमेत बताउनुभयो ।