• १० मंसिर २०८१, सोमबार

छ महिनादेखि विद्यालयमै थन्कियो स्कुल बस

blog

विद्यालयमा नै थन्किएको स्कुल बस । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले
चरीकोट, माघ २८ गते । 
बागमती प्रदेश सरकारले दोलखाको क्षेत्रवती माध्यमिक विद्यालयलाई प्रदान गरेको स्कुल बस छ महिनादेखि विद्यालयमै थन्किएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दुई वर्ष अगाडि बैत्यश्वर गाउँपालिका–८ क्षेत्रपामा रहेको क्षेत्रवति माध्यमिक विद्यालयलाई स्कुल बस प्रदान गरेको थियो ।

विद्यालयमा टाढा–टाढाबाट विद्यालय आउनुपर्ने विद्यार्थीले थकानका कारण पढाइमा ध्यान दिन नपाउने, गृहकार्य गर्न नपाउने, धेरै समय खेर फाल्नुपर्नेलगायत कुरालाई ध्यानमा राख्दै प्रदेश सरकारले विद्यालयलाई बस प्रदान गरेको थियो ।

केही समय सञ्चालन भए पनि आर्थिक र प्राविधिक समस्याका कारण बस थन्किएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘‘बस सञ्चालन गर्न आर्थिक अभाव छ । विद्यालयको आम्दानीको स्रोत छैन, दुःखले केही समय बस चलायौँ । अन्तिममा केही नलागेपछि साउनदेखि बस चलाउन सकिएको छैन ।’’

बसका लागि चालक राख्न मासिक करिब २५ हजार तलब दिनुपर्ने विद्यार्थीबाट उठेको पैसाले सामान्य मर्मत खर्च मात्र पुग्ने गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले सहयोग गर्ने बताएकाले आगामी शैक्षिक सत्रबाट बस सञ्चालन हुने जानकारी दिनुभयो ।

विद्यालयले स्कुल बस सञ्चालन गर्न सहयोग गरिदिन तीनै तहका सरकारलाई आग्रह गरेको छ । सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयमा स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत स्कुल बस सहयोग गरेको हो । ४२ सिट क्षमता रहेको बस २५ लाखमा खरिद गरिएको थियो ।

जिल्लाकै नमुना विद्यालयको रूपमा चिनिने सो विद्यालय २०२३ सालमा स्थापना भएको थियो । बालकक्षादेखि १२ कक्षासम्म अध्ययन हुने सो विद्यालयमा हाल तीन सय ६८ जना विद्यार्थी रहेका छन् ।