मान्छेको मन ढुङ्गा भयो भने कस्तो होला ? हामीले कल्पना गर्न पनि सकिन्न तर यहाँ मान्छेका मन ढुङ्गा भइरहेका छन्, एउटा निर्जीव ढुङ्गा । हो मान्छेको मन एउटा ढुङ्गा भइदियो, र ढुङ्गाको मन भएका मान्छेका चर्तिकला वर्तमानमा छरपस्ट देखिएका छन् । यही समयलाई ‘सन्दिग्ध शताब्दी’मार्फत निबन्धकार श्रीबाबु कार्कीले उजागर गर्नुभएको छ ।
ढुङ्गा पो भएछु अचेल, जीवनको पाश्र्वमा मृत्युभय, जीवन एक जुलुङ्गो अनेक, हृदयमा बयली खेल्दै असार, ल्याम्प पोष्ट, प्रेम, प्रिय गाउँ, नाक, नियतिको आकस्मिकता, यात्रा : जीवनको सौन्दर्य, क्यामेला, प्रेम र झरिला मुस्कानहरू, रिस, निर्वर्जित मन र सन्दिग्ध शताब्दीलगायत चौधवटा विविध शीर्षकका निबन्धले आफ्नै इतिहास निर्माण गरेको प्रस्ट देखिन्छ । यी निबन्धहरू पढिरहँदा आत्मपरक निबन्धमा श्रीबाबुले आफ्नै युुग निर्माण गरेको देखिन्छ ।
“निबन्धमा कलात्मक वाक्यहरू छन् । सकारात्मक आवाजको शङ्खघोष छ । त्यसैले अक्षरलाई अलिकति पनि नकाम्ने गरेर भनेको हुँ, निबन्धहरू काव्यात्मक छन् । रङ्गिएका चित्रहरूजस्ता छन् । निबन्ध गेय छ । त्यसैले निबन्धहरू बलिया छन् । त्यसैले भनेको श्रीबाबु कार्कीका निबन्धले एउटा मार्ग बनाएको छ । आफ्नैपनको मार्ग । मौलिकपनको मार्ग । श्रीबाबु स्वादको मार्ग ।” श्रीबाबुका निबन्धमाथि कोरिएका वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठको यो विचारसँग म पनि सहमत छु, जो कोहीले निबन्धहरू पढ्नुहुन्छ भने पक्कै श्रीबाबुको आफ्नैपन र लय भेट्टाउनुहुन्छ । आत्मपरक निबन्ध लेख्नेहरू औँलामा गन्न सकिने अवस्थामा श्रीबाबुको कलम बलियो भएर सन्दिग्ध शताब्दीमा देखिएको छ ।
निबन्धको पहिलो कृतिमै आफ्नोपनको झल्को ल्याउन सक्नु उहाँको लेखन क्षमता हो । निबन्धमार्फत प्रेम, सद्भाव, राष्ट्रिय भावना, ग्रामीण विम्बको प्रयोग, मानवीय संवेदनाका स्वरहरू, मान्छेका चुलिएका अहम्का पर्खालहरूलगायत धेरै कुरा निबन्धमा अटाएका छन् । मान्छेमा भएका रिसको प्रकार खोज्छन्, मान्छेले आफ्नो इज्जत जोगाउने नाकको कुरा गर्छन् । आजकलका मान्छेको मनलाई ढुङ्गासँग दाँज्छन् । पिताजीलाई एक महिनासम्म अस्पतालमा राख्नु परेको दुःखका कुरा पनि लेख्छन् । यी र यस्तै–यस्तै कतै दुःखका कुरा, कतै सुखका कुरा, कतै रमाइला कुरा र कतै बिछोडका कुराले काव्यात्मक लाग्छन् यी निबन्धहरू । निबन्धमार्फत जीवनदर्शन खोजिरहनुभएको छ । अर्ति, उपदेश तथा साहित्य समाजको ऐनाभन्दा पनि जीवनका हरेक क्षणलाई साहित्य सम्झेर जीवनका प्रत्येक पाटाहरूमा हामी उत्साहजनक रूपमा सहभागी हुन जान्नुपर्ने रहेछ भन्ने महत्वपूर्ण वाणीहरू सन्दिग्ध शताब्दीका प्रत्येक हरफहरूमा भेटिन्छन् ।
सन्दिग्ध शताब्दीको अर्थ खोज्दा सन्देह भएको, शङ्का लागेको, शङ्कास्पद सय वर्षको समय वा अवधि भन्ने देखिन्छ । वास्तवमा सय वर्षको इतिहास निकै क्रूर बनेको छ । “सडकमा मानिसहरू नभएर लस्करका लस्कर जुलुङ्गो अनुहारहरू हिँडिरहेका छन् । कात्रोमा पनि नाफाखोरहरू नाफा खाइरहेछन्–खोजिरहेछन् । मत्ता साँढेको फुङ्कारले डुक्रिएझैँ निरन्तर फुङ्कार छाडिरहेछ समय । देशको समृद्धि हराएकोमा चिन्ताग्रस्त छन् तन्नेरी वैभवहरू ।” (पृ.८०) कवि हृदयका श्रीबाबुले निबन्धमा काव्यिक स्वादलाई अझै सुमधुर बनाउनुभएको छ । शालीन शब्दमा गम्भीर, बोधगम्य तथा सरल भाषामा जीवनका चित्र उतार्नुभएको छ । उहाँ कसैलाई दोष दिनुहुन्न, गाली गर्नुहुन्न र अर्ति, उपदेश पनि दिनुहुन्न । दिनुहुन्छ त केवल समयको चित्र शब्दमा उतारेर आफ्नै लयमा गुनगुनाइरहेका । कहिलेकाहीँ लाग्छ, यस्तो मैले किन लेखिनँ होला । हामी पनि त्यही र त्यस्तै भूगोलमा हुर्केका हौँ । हामीले पनि असारमा धान रोपेका थियौँ । उहाँको त्यो स्मृति विम्ब साँच्चै नै लोभलाग्दो छ । उहाँ हुर्केका समाजको चित्र पढ्दा आफूलाई पनि त्यो समयको यादले सताउँछ नै । हरेक मान्छे मृत्यु बोकेर हिँडिरहेको हुन्छ तर पनि ऊ अजम्बरी नै हुँ जस्तो गरेर अहमताको पहाड उक्लिरहेको हुन्छ । सत्यलाई स्वीकार गर्न नसक्ने मान्छेको कथा उहाँका निबन्धमा पढ्न सकिन्छ ।
“मानव जीवन एउटा विशिष्ट क्यानभास हो । जीवनको नौरङ्गी रङ्गले जीवनलाई रङ्गाउन सकिन्छ । जतनसाथ जसले यो क्यानभास रङ्गाउन सक्छ, सायद उसैको जीवन लालित्यपूर्ण हुन्छ ।” (पृ.५७) यात्रा ः जीवनको सौन्दय शीर्षक भित्रका यी पङ्क्तिले हरेक मान्छेले आफ्नो जीवन आफैँले के कसरी बाँच्ने हो, आफैँ तय गर्न सके जीवन लालित्यपूर्ण बनाउन सकिने कुरामा जोड दिनुभएको छ श्रीबाबुले । निबन्धमा अर्गानिक स्वाद पस्कनुभएका श्रीबाबु, सिर्जना र व्यवहारमा पनि खारिएका व्यक्ति हुनुहुन्छ । सधैँ गुणस्तरीय लेखनमा विश्वास गर्नुहुन्छ । प्रचारप्रसारको हल्लाबाट टाढा रहेर गाउँले विम्बले सिर्जनालाई तिखारिरहनुभएको छ । ‘हृदयमा बयली खेल्दै असार’ शीर्षक निबन्ध साँच्चै कृषकको पसिना र पौरखसँग गाँसिएको छ । भलै यो लेखकको भोगाइ किन नहोस् । असारको भोगाइ मैले पनि भोगेको छु, रमाइला पलहरूलाई ‘हृदयमा बयली खेल्दै असार’ शीर्षकको निबन्धमा म आफैँ पात्र भएर पढेँ, निकै रोमाञ्चित भएँ । यसको मतलब हो, श्रीबाबुका सन्दिग्ध शताब्दीका निबन्धहरू जसले पढे पनि कुनै न कुनै रूपमा पाठक आफैँ पात्र भएको महसुस हुन्छ, यो लेखकको सफलता हो । अर्को कुरा जुन भूगोलमा बसेर पढे पनि मानवीय संवेदना स्पष्ट रूपमा देखिन्छन् । एउटा लेखकले ध्यान दिनुपर्ने कुरा पनि यही हो । यसमा उहाँ असाध्यै सचेत हुनुहुन्छ ।
यसको प्रमाण हो– सचेत भएर लेखिएको निबन्धसङ्ग्रह सन्दिग्ध शताब्दी । आत्मपरक निबन्ध भनेकै मन र मस्तिष्कलाई माझेर आफ्ना विचारहरूलाई व्यक्त गर्ने नै हो । जसरी कारिगरले एउटा ढुङ्गालाई कँुदेर पुज्ने मूर्ति बनाउँछ, त्यसरी नै शब्दशिल्पमा लेखकले पनि मेहनतका साथ शब्दलाई सजाउने नै हो । त्यसपछि बन्ने हरेक वाक्य पूजनीय नै हुन्छ । सन्दिग्ध शताब्दीमा श्रीबाबुको कारिगरी अत्यन्त सफल देखिन्छ ।
“जीवनको मौन महाप्रस्थान । निर्बाध स्वीकार छ । म प्रकृतिको यो विधि भत्काउने सामथ्र्य राख्दिनँ । यद्यपि मृत्युको भुइँकुहिरो उठ्नुअघि म खोजिरहेको हुन्छु– जीवनको अस्तित्व । म सोचिरहन्छु– जीवनको सौन्दर्य । गाइरहन्छु– जीवनको गीत । ........र कोरिरहन्छु– जीवनको मूर्तचित्र ।” (पृ.१२) ‘जीवनको पाश्र्वमा मृत्युभय’ शीर्षकका यी हरफहरूजस्तै श्रीबाबु कार्कीले लेखिरहनुपर्छ जीवनका गीतहरू, कोरिरहनुपर्छ युगका चित्रहरू । नेपाली निबन्धमा अलग्गै अर्गानिक स्वादसँगै आफूलाई टाढैबाट चिनिने बनिसक्नुभएका श्रीबाबुको श्री युगौँयुगसम्म चहकिलो बनेर नेपाली साहित्यमा चम्किरहोस्, शुभकामना !