• १० मंसिर २०८१, सोमबार

त्यो पहिलो ध्वनि

blog

लेख्न बस्दा अनेक पोयोका बीच आफैँ हराएजस्तो हुन्छु । कुन पोयो समातेर सुरुआत खै कहाँबाट गरौँ ! मान्छेको जीवन त गर्भाशयबाट सुरु भएर चिहानमा विलय हुन्छ । सायद जीवनका आरोह–अवरोहको समयरेखा (या भाग्यरेखा ?) पनि मान्छेको निधारमा गर्भावस्थादेखि नै कोरिँदो हो ।

यस्तै समयको गङ्गामा बग्दै बग्दै, कतै तैरिँदै त कतै भुँवरीमा फस्दै आज जीवनका ३२ वसन्त बितिसकेछन् । यीमध्ये ठ्याक्कै आधा वसन्त त कोकिल–कण्ठको सुरै नसुनी बितेछन् । प्रकृतिका आलाप, मानव मनका उद्गार नसुनीकन बितिगएछन्– पाँच हजार ९२२ दिन ! सम्झँदा आफैँलाई उदेक लाग्छ र विस्मय पनि । 

मनमा त यावत् ध्वनि नगुञ्जिएको कुनै दिन हुँदैनथ्यो, भ्रमात्मक नै किन नहोस् ! जसलाई चिकित्सकीय भाषामा ‘टिनिटस’ भनिँदो रहेछ । मलाई यो समस्याले बेलाबेला विचलित पाथ्र्यो भने हर्दम विस्मयमा हुन्थेँ । बाहिरको कुनै ध्वनि कानभित्र पस्दैन तर भित्रभित्रै अनेक ध्वनि गुञ्जायमान छन् ! फुसफुसाहट, गडगडाहट, चिरबिर, सिरसिर, झ्याउँकीरी कराएजस्तो, हार्मोनियमका बेसुरा रागजस्तो । कोही रोएको कल्पना गरियो या रोएको देखियो भने रोदन नै गुञ्जिने, गाएको कल्पना गर्दा सङ्गीत झङ्कारमय हुने ! तर सब भ्रमात्मक ध्वनि–ब्रह्माण्ड रहेछ ।

यस्तो समस्यालाई ‘टिनिटस’ भनिन्छ भन्ने कुरा बुझ्न मलाई १५ वर्ष लाग्यो । अहिलेसम्म टिनिटसको खास उपचार विधि पनि संसारमै पत्ता लागेको छैन । जब कक्लियर इम्प्लान्टबारे इन्टरनेटमा धेरै खोजेर बस्न थालेँ, तब टिनिटसबारे पनि थाहा पाएँ । आफूभित्रको समस्याको जड चाल पाएँ । यथार्थमा भने मलाई पूर्णतः ध्वनि–श्रवणबाट वञ्चित गराइएको थियो । यो खेल कसको ? कसले किन गरायो, दैवले या प्रकृतिले ? कि भाग्यरेखाले ?

प्रायः सबैले सोच्दा रहेछन्– यत्रो १९–२० लाख रकम खर्चेर अप्रेसन गरेपछि त चमत्कारै होला । फ्याट्टै सुन्न सक्छ होला । वर्षौंसम्म गुमेको श्रवणशक्ति तुरुन्त फिर्ता आउँछ होला । मैले पनि सुरुमै वास्तविक ध्वनि सुन्ने अपेक्षा गरेको थिएँ तर त्यसो रहेनछ । 

जब कानले बाहिरी ध्वनि सुन्न थाल्छ, तब भित्रको भ्रमात्मक ध्वनि आफैँ दमित हुँदो रहेछ । यो कुरा मैले केही भुक्तभोगीका अनुभव थाहा पाएर बुझेको थिएँ । अहिले आफैँले अनुभवसमेत गरेँ । बाहिरबाट ध्वनि जाँदासम्म दिमागको ध्यान बाहिरैको ध्वनिमा हुन्छ तर जब बाहिरको कुनै पनि ध्वनि कानले ग्रहण गर्न सक्दैन, तब दिमाग या मनको ध्यान उही टिनिटस अर्थात् भ्रमात्मक ध्वनिमा जाँदो रहेछ । जति ध्यान दियो उति टड्कारो हुने । ध्यान अन्तै मोड्न सके साम्य हुने तर निर्मूृलचाहिँ नहुने । जीवन–जगत्मा अझै पनि कैयौँ यस्ता समस्या छन्, जसलाई केवल न्यूनीकरण गर्न सकिन्छ, निर्मूल पार्न सकिन्न । 

टिनिटस सबै बहिरा व्यक्ति (या कान कम सुन्ने)हरूमा नहुन सक्छ तर केहीमा हुँदो रहेछ । कतिपय सुनाइ क्षमता आंशिक ह्रास भएका मान्छेमा पनि कान कराउने, बज्ने, शङ्ख फुकेको जस्तो आवाज आउने आदि समस्या हुन्छ । कान राम्रै सुनिरहेको मान्छेले पनि अतिरिक्त ध्वनि गुञ्जायमान भएजस्तो, फुसफुसाहट या सिटी बजेजस्तो या शङ्ख फुकेजस्तो आदि महसुस गर्न सक्छन् ।

मेरो श्रवणशक्ति गुमेको दिन पनि दिनभरि नै एकोहोरो 

टूँ... शङ्खनादजस्तो आवाज मात्र गुञ्जायमान भइरहेको थियो । यो २०६३ कात्तिकको २०–२१ गतेतिरको कुरा हो । अघिल्लो दिन खासै ख्याल गर्न सकेको थिइनँ । अर्को दिन भने बिहानभन्दा दिउँसो अझ छिटछिटो र चर्को हुँदै गयो । अनि बेलुका झनै चर्को भएको थियो– शङ्खनाद । साथसाथै बिहानभन्दा दिउँसो सुनाइ ह्रास बढ्दै गएको र बेलुका झनै ह्रास भइसकेको महसुस गरेको थिएँ । राति त्यत्तिकै सुतियो । त्यसको भोलिपल्ट उठ्दा थाहा भयो– पूर्ण रूपमा श्रवणशक्ति गुमिसकेछ । सट्टामा शङ्खनाद र अन्य भ्रमात्मक ध्वनि निरन्तर बजिरहे । तीव्र रिँगटा लागेर बान्ता हुने । घर र धर्ती सबै रोटेपिङझैँ घुमिरहने । ओल्टोकोल्टो त फेर्नै नसकिने । चड्केर टाउको दुख्ने, छुनै नसकिने । के के भो, भो । त्यसको एक हप्ताअघिदेखि हाँडे रोगको सङ्क्रमण भएको थियो । दुवैतिर कानको जरामुनिबाट सुन्निएर गालाहरू भकुण्डोजत्रै भएका थिए । हाँडेको आक्रमण कानका भित्री तन्तु र नसामा पर्न गएछ । यसरी मेरो श्रवण मबाट खोसियो । 

त्यसयता कुनै पनि उपचारले श्रवण फिर्ता ल्याउन सकिएन । बरु टिनिटस समस्या आजीवन साथी भयो । निद्रा र बेहोसीमा बाहेक निरन्तर भ्रमात्मक ध्वनिहरू मभित्र गुञ्जिरहे । ती ध्वनि एक्लोपनमा कहिले मन बहलाउने राग भए त कहिले तनावमा असह्य कोलाहल ।

टिनिटसका विभिन्न कारण हुन्छन्, जसमध्ये श्रवण हानि प्रमुख हो । श्रवणशक्ति आंशिक या पूर्ण ह्रास हुँदै गर्दा यस्तो समस्या टड्कारो देखिने रहेछ । कानको भित्री भागमा कुनै सङ्क्रमण या चोटपटकबाट पनि यस्तो समस्या हुन्छ । साइनस, माइग्रेनजस्तो शिरदर्द, मेनियर्स सिन्ड्रोमजस्ता कानका रोग, लगातार चर्को ध्वनि–प्रदूषणमा काम गर्नु, अति तनाव एवं थकान, एस्पिरिन, क्विनाइन र क्लोरोक्वाइनजस्ता केही औषधिको साइड इफेक्ट आदि कारणले समेत टिनिटस र कान बज्ने÷कराउने समस्या हुन सक्छ ।

दुःख नभोगी, सङ्घर्ष नगरी, तनाव नझेली कुनै पनि परिवर्तन हुँदैन । परिवर्तन चाहनेले केही न केही भोग्नैपर्छ । पानी बाफ बन्न उम्लिनुपर्छ, बादल पानी बन्न टुक्रिनुपर्छ । सुन चम्किन तेजाबी रापताप भोग्नुपर्छ । बीउ उम्रिन चिस्यान भोगेजस्तै, पुतली बन्न झुसिलकीराको जुनी भोगेजस्तै मैले पनि यी दिन देख्न÷लेख्न धेरै भोगेको छु । 

टिनिटस दुई प्रकारको हुन्छ । पहिलो– व्यक्तिपरक टिनिटस; जसमा टिनिटसद्वारा पीडित व्यक्तिले मात्र त्यस्तो भ्रमात्मक ध्वनि महसुस गर्न सक्छ । बाह्य व्यक्तिले उभित्र के भइरहेछ भन्ने बुझ्न सकिँदैन । दोस्रो– वस्तुपरक टिनिटस, जसमा डाक्टरले स्टेथोस्कोपको मद्दतले बिरामीको कानभित्र सुनिने अतिरिक्त भ्रमात्मक ध्वनि सुन्न या महसुस गर्न सक्छन् । यो दोस्रो प्रकारको चैँ दुर्लभ मानिन्छ । मेरो चैँ पहिलो प्रकारको टिनिटस रहेछ ।


०००


म अब तपाईंलाई पाँच हजार ९२२ दिनपछि सुनेको ध्वनि तरङ्गबारे अवगत गराउन गइरहेछु । संवत् २०७९ को पुस ११ गते त्रिवि शिक्षण अस्पतालमा मेरो दायाँ कानमा ‘कक्लियर इम्प्लान्ट’ राख्ने शल्यक्रिया सम्पन्न भयो । त्यसको ठीक तीन हप्तापछि २०७९ माघ २ गते उक्त कानमा ‘अडियो प्रोसेसर’ जडान गर्ने मिति थियो तर आर्थिक झमेलाकै कारण बल्ल ८ गते साइत जु¥यो । त्रिपुरेश्वरस्थित निजी क्लिनिकमा राति साढे ७ बजे मेरो स्विच अन गरियो । 

मैले सुनेको त्यो पहिलो रोबोटिक ध्वनि कस्तो थियो ? रेडिमेड प्रोग्रामिङ गरिएको त्यो ध्वनि चरा बासेकोजस्तो सुनियो । चराचुरुङ्गीको चिरिक–चिरिक आवाजजस्तो । प्रोग्रामर अर्थात् वरिष्ठ श्रवण विशेषज्ञ एसएल कर्णले मेरो कानपछाडि प्रोसेसर जडान गरिसकेपछि कम्प्युटर सफ्टवेयरमार्फत ‘प्रोग्रामिङ’ गर्नुभयो । सानो भोलुमदेखि ठूलो भोलुमसम्म यस्तै केही ध्वनि सेट गरियो । उहाँले प्रोग्रामिङ र भोलुम म्यापिङ गरिसकेपछि बाहिरी वातावरणको ध्वनि सुने÷नसुनेको जाँच गर्नुभयो । टेबुल ठटाउनुभयो, केही बोल्नुभयो । ध्वनि तरङ्ग मैले महसुस त गरेँ तर एकदम न्यून मात्रामा । म आफैँले बोलेको र उहाँले बोलेको सब चराको बोलीजस्तो सुनियो । एकदम मसिनो, लयविहीन ध्वनि । 

त्यसपछिको करिब दुई हप्ता बित्यो । वातावरणमा ध्वनि तरङ्ग छ भन्ने मैले पुनः महसुस गर्न पाउँदा खुसी थपिएको छ । बाटो हिँड्दा मोटरबाइक, कार र गाडीको आवाज । चर्को हर्न बजाउँदै कुदेको एम्बुलेन्सको साइरन । सार्वजनिक गाडीभित्रको कोलाहल, खलासीको चर्को आवाज । आकाशमा उडेको हवाईजहाजको गर्जन । अफिसमा बज्ने टेलिफोनको घण्टी । कम्प्युटरमा काम गर्दा किबोर्डको टिकटिक । युट्युब र टिकटकका बेसुरा धुन । आफ्नै मोबाइलमा कल गर्दा जाने रिङटोन ।  घरभित्र र बाहिर मानिस बोलेको, हाँसेको । आफ्नै सासको गति र पदचाप । बाथरुममा पानीधाराको आवाज । ढोकाको ढकढक । कुकुर भुकेको र कुकरमा सिटी लागेको आदि यसबीचमा मैले सुनेका र महसुस गरेका ध्वनि हुन् तर ती सब लयविहीन लाग्छन्, मानौँ– आफ्नो वास्तविक रूप हराएर वर्षौंपछि घर फर्केको बेपत्ता मान्छेजस्तो । कताकता मिटर टिप्न नसकेको रेडियोजस्तो । मैले पहिला किशोरकालमा सुनेका ध्वनिहरू सम्झिएँ र तुलना गर्न थालेँ । अहँ, रत्तिभर तालमेल छैन । मान्छेहरू बोल्दा चराचुरुङ्गी बोलेजस्तो लाग्छ, कुरा केही बुझिँदैन । को बोलको हो, के भनेको हो ? केही मेसो पाइँदैन ।

प्रायः सबैले सोच्दा रहेछन्– यत्रो १९–२० लाख रकम खर्चेर अप्रेसन गरेपछि त चमत्कारै होला । फ्याट्टै सुन्न सक्छ होला । वर्षौंसम्म गुमेको श्रवणशक्ति तुरुन्त फिर्ता आउँछ होला । मैले पनि सुरुमै वास्तविक ध्वनि सुन्ने अपेक्षा गरेको थिएँ तर त्यसो रहेनछ ।

डेढ दशकसम्म अवरुद्ध ध्वनिमार्ग, तरङ्ग नै ग्रहण गर्न बिर्सेको दिमाग । अहिले बल्ल यान्त्रिक ध्वनि–तरङ्गलाई दिमागले पहिलोपल्ट महसुस गर्न थालेको न रहेछ । वास्तविक ध्वनि चिन्न र बोलेको कुरा बुझ्नका लागि समय लाग्छ भनिएको छ । जसरी नवजात शिशुले सुनेको कुरा बुझ्न, बोल्न र शब्दहरू सिक्न समय लगाउँछ, ठीक त्यसरी नै यो नयाँ ध्वनि दिमागले चिन्न, बुझ्न र ठम्याउन समय लाग्ने रहेछ । श्रवण विशेषज्ञका अनुसार छ महिनादेखि एक वर्षसम्म पनि लाग्न सक्छ ।

जब प्राकृतिक सबै बाटा बन्द हुन्छन्, मान्छे अन्तिम विकल्पका रूपमा कृत्रिम बाटो अपनाउन बाध्य हुन्छ । यो मेरो भोगाइ हो । चिकित्सा–विज्ञान–प्रविधिले जतिसुकै चामत्कारिक फड्को मारे पनि तर प्रकृतिलाई जित्न भने सक्दैन । प्राकृतिक देनजस्तो कृत्रिमता कहिले पनि हुँदैन । यो मेरो बुझाइ हो । जे होस्, अपेक्षित सुनाइ सुधार भयो भने म यही कृत्रिमतालाई वरदान मान्नेछु । यसकै लागि पछिल्लो एक वर्षदेखि एकोहोरो लागिपरेको थिएँ, भौँतारिएको थिएँ । कहिले कता कहिले कता, कहिले के के जाँच । जिन्दगी भन्नु आखिर जाँचैजाँच न रहेछ, प्रयासै प्रयास न रहेछ । कैयौँ दिन अस्पताल र क्लिनिक जाँदा बाटैघाटै रोएको पनि छु– धुरुधुरु । यहाँ भोग्नुपरेका झन्झट, ताडना, आर्थिक विहीनता, मान्छेले आफूलाई नबुझ्दाका तीक्ष्ण क्षण दुखेर रोएँ । कति दिन आफ्नैले र परायाले बिझाउने मान्छेपिच्छेका विषाक्त व्यवहार अनि हरेक क्षेत्रमा हुने स्वार्थको व्यापार भोगेर रोएँ । एक्लोपनले गुम्सिएको बखत कति पटक डेराभित्रै र बाहिर कार्यालयमा बाथरुम पसेर पनि रोएँ । मैमाथि प्रकृतिले दिएको यो चोट, यो प्रहार सम्झेर निकै दिन रोएको छु तर पनि बेलाबेला आफैँले आफैँलाई सम्झाएको छु, चित्त बुझाएको छु । सबैतिर काँडा मात्र छैनन्, फूल पनि त छन् । मेरा लागि दुनियाँमा सहृदयी, स्नेही, सहयोगी र मर्म बुझिदिने मान्छे पनि उत्तिकै छन् । यसरी सम्झँदा पुलकित भएको छु, पीडा बिर्सेर मनमनै हाँसेको पनि छु ।

दुःख नभोगी, सङ्घर्ष नगरी, तनाव नझेली कुनै पनि परिवर्तन हुँदैन । परिवर्तन चाहनेले केही न केही भोग्नैपर्छ । पानी बाफ बन्न उम्लिनुपर्छ, बादल पानी बन्न टुक्रिनुपर्छ । सुन चम्किन तेजाबी रापताप भोग्नुपर्छ । बीउ उम्रिन चिस्यान भोगेजस्तै, पुतली बन्न झुसिलकीराको जुनी भोगेजस्तै मैले पनि यी दिन देख्न÷लेख्न धेरै भोगेको छु । 

जिन्दगी भन्नु भोगाइको सिलसिला न हो । सङ्घर्षको अविच्छिन्न यात्रा न हो । अनेक भोगाइ र सङ्घर्षकै दौरान मेरो यो सुनाइ सङ्घर्ष पनि जोडिएको छ । यो यान्त्रिक प्रविधि विज्ञानका लागि ‘चमत्कार’ होला तर जैविक शक्तिका अघि केवल ‘सहजता’ मात्र हो । जैविक कानको विकल्प पनि हैन, केवल बाध्यकारी अवस्था हो । यो धेरै कुरामा निर्भर रहने हुँदा थुप्रै सीमा छन् । झन्झट र आर्थिक कठिनाइ (धान्नै नसकिने महँगो) उस्तै छ । 

एक पटक शल्यक्रिया गरेर जडान गर्दैमा सुनाइ ढुक्क हुन्छ भनी बुझ्नु नहुने रहेछ । शल्यचिकित्सक डा. रवीन्द्रभक्त प्रधानाङ्गकै भनाइमा यो एक ‘टिम वर्क’ हो; जसमा राम्रो अपरेसन, उचित म्यापिङ (प्रोग्रामिङ) र सही थेरापी भएमा सुनाइ प्रभावकारी हुन्छ । त्यतिले मात्रै पुग्दैन, सुनाइ अभ्यास र बुझाइमा परिवार, साथीभाइ तथा समाजको पनि उत्तिकै भूमिका हुन्छ । मैले अहिले जुन श्रवण–यात्रा थालेको छु, यो ढुक्कको यात्रा हैन । बाधारहित, अविच्छिन्न छैन । इम्प्लान्टले काम गरेसम्म न सुन्ने हो । सुनाइ सङ्घर्ष त बल्ल सुरु भएको छ । अहिले अडियो प्रोसेसर प्रोग्रामिङको पहिलो चरणमा छु । अबका छ महिनासम्म नियमित सुनाइ तथा बोलाइ थेरापी र एक वर्षसम्म प्रोग्रामिङ अर्थात् म्यापिङको यात्रा तय गरेपछि बल्ल एउटा चौतारी भेटिने आशा छ । बाँकी बात चौतारीमै मारौँला ।