• १२ मंसिर २०८१, बुधबार

रोग लुकाउँछन् बिरामी

blog

बागलुङ समाचारदाता

बागलुङ, माघ २६ गते । बागलुङमा पछिल्लो पाँच महिनाको अवधिमा सात जना कुष्ठरोगका बिरामी पहिचान भएका छन्। यो तथ्याङ्क अघिल्लो एक वर्षभित्र पहिचान भएका बिरामीको हाराहारी हो। अघिल्लो वर्ष नौ जना बिरामी पहिचान भएका थिए। 

चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म सात जना नयाँ बिरामी भेट्टिएका छन्। यो तथ्याङ्क निकै चिन्ताजनक रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले बताउनुभयो। 

“कुष्ठरोग समस्याका रूपमा रहेको छ,” कार्यालय प्रमुख शर्माले भन्नुभयो, “बिरामीको पहिचान र औषधिको नियमित सेवनमा समस्या छ।” सामाजिक विभेदमा पर्ने डरले बिरामी रोग लुकाएर बस्ने गरेको शर्माको भनाइ छ। 

जिल्लाको बडीगाड गाउँपालिकामा सबैभन्दा बढी कुष्ठरोगका बिरामी पहिचान भएका छन्। क्षय–कुष्ठ रोग अधिकृत देवप्रकाश घिमिरेका अनुसार बडीगाड गाउँपालिकामा तीन, जैमिनी नगरपालिकामा दुई, गलकोट नगरपालिकामा एक र बागलुङ नगरपालिकामा एक नयाँ बिरामी पहिचान भएका छन्। जिल्लामा पुराना र नयाँ गरी कुल १२ जना कुष्ठरोगका बिरामीले हाल नियमित औषधि सेवन गर्दै आएका छन्। माइकोब्याक्टेरियम लेप्रे नामको जीवाणुबाट लाग्ने यो रोगको समयमा नै उपचार गर्दा निको हुन्छ। 

कुष्ठरोगका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट रोग सर्ने गरेको बताइन्छ। सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई सर्दैन र निको हुने गर्छ। समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपाङ्गता नहुने कार्यालय प्रमुख शर्माको भनाइ छ। 

रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले उच्च रोगभार भएका स्थानीय तहमा परिवार तथा छिमेकीको सम्पर्कमा आएकाको परीक्षण, घरधुरी परीक्षण, छाला शिविर, अपाङ्गता रोकथाम, उपचार, जटिलताको व्यवस्थापन, प्रेषण सेवा, स्वयं हेरचाह, परामर्श सेवा, पुनस्र्थापनाका लागि आयआर्जन, स्वयं हेरचाह समूह गठन, सहयोग सामग्री वितरण, सीपमूलक तालिम, आरोग्य आश्रममा रहेका प्रभावितलाई खान बस्न व्यवस्थापन गरेको छ। स्थानीय तह तथा सरकारबाट भइरहेको यस्तो सहयोगले कुष्ठरोगका बिरामीको आत्ममनोबल बढाउनका साथै उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। बिरामीलाई नियमित उपचार गर्न खुलेर आउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। 

तर पनि सामाजिक विभेदको डरले कुष्ठरोगका बिरामी समाजमा खुल्न चाहँदैनन्। उनीहरूले गोप्य रूपमा औषधि सेवन गर्दै आएका छन्। रोगको प्रकृति र बिरामीको गोपनीयतालाई ध्यानमा राखेर स्वास्थ्यकर्मीले पनि स्वास्थ्य चौकीबाट औषधि घरमै पु-याउने गरेको जानकारी दिएका हुन्। 

बिरामीलाई समाजले भेदभाव र घृणा गर्ने त्रासले बिरामी खुल्न नचाहेको क्षय–कुष्ठरोग अधिकृत घिमिरेको भनाइ छ। जिल्लामा रहेका अधिकांश बिरामी भेदभावकै डरले खुल्न चाहन्नन्। औषधि सेवनपछि रोग पूर्ण रूपले निको हुने भए पनि बिरामी मानसिक त्रासमा औषधिसमेत खुला रूपमा सेवन गर्न सक्दैनन्। 

उहाँले नियमित औषधि सेवन गर्दा निको हुने रोगका विषयमा सार्वजनिक रूपमा नखुले पनि स्वास्थ्यकर्मीको सम्पर्कमा आउन आग्रह गर्नुभयो। यसले कुष्ठरोग नियन्त्रणमा सहयोग पुग्नका साथै निको हुने दर बढ्ने भनाइ उहाँको छ।