काठमाडौँ, माघ २५ गते । वसन्तपुर दरबार स्क्वायरस्थित महादेव पार्वती मन्दिर परिसरको डबलीमा एक दम्पती काठमा बुट्टा कुँद्न व्यस्त छ।
गोपालकृष्ण शिल्पकार र बीना शिल्पकार विगत ६ महिनादेखि काष्ठकलामा तल्लीन रहनुभएको हो। उहाँहरूले विभिन्न जातका काठमा कलात्मक बुट्टा कुँद्दै महादेव–पार्वती मन्दिरको गरिमालाई दुरुस्त बनाउन मेहनत गरिरहनुभएको छ।
भक्तपुर नगरपालिका–८, सिपाडोल निवासी शिल्पकारको पुस्तैनी पेसा नै काठमा कलात्मक बुट्टा कुँद्नु हो। विवाहपछि उहाँकी श्रीमती बीना शिल्पकार पनि यही पेसामा संलग्न हुनुभयो। हाल शिल्पकारलाई यस मन्दिरमा प्रयोग गरिने कलात्मक झ्याल, ढोकालगायत काठका सम्पूर्ण सामग्री तयार गर्ने जिम्मेवारी मिलेको छ। शिल्पकार दम्पतीलाई राजेश शिल्पकार र अनिल शिलाकारले सहयोग गरिरहनुभएको छ। उहाँहरू हरेक दिन भक्तपुरबाट यहाँ आई काठमा अनेक आकृति बनाउन तल्लीन हुनुहुन्छ।
शिल्पकारले भन्नुभयो, “आफ्नो बाबुबाजेले गरेको देखेर अग्रजसँग सिक्दै रोजगारीका लागि यो काम गरेँ। काष्ठकला त गरिमा बोकेको पेसा रहेछ। विनाशकारी भूकम्पपछि भक्तपुर, काठमाडौँका मठमन्दिरमा प्रयोग हुने झ्यालढोका बनाउने कामसँग आबद्ध छु। यो मेरा लागि अत्यन्य गौरवको विषय हो।” उहाँले यसअघि काष्ठमण्डप, हनुमानढोकाभित्रका दस अवतार, लक्ष्मीनारायण मन्दिर, भक्तपुरको न्यातपोल, तलेजु मन्दिरमा प्रयोग गरिएका कलात्मक सामग्री बनाउने जिम्मेवारी पनि पूरा गरेको बताउनुभयो।
शिल्पकारले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “१५/१६ वर्षकै उमेरदेखि घरमै सिकेको कामले मलाई रोजगारीसँगै कला बचाउने अभियानमा लाग्न प्रेरित गरेको छ तर हाम्रा छोराछोरीले यो पेसा गर्लान् भन्ने लाग्दैन। यो काम मसिनो गरी धैर्यका साथ गर्नुपर्छ। अहिलेको पुस्ता सुकिलो, मुकिलो भएर छिटो पैसा कमाउने माध्यम अपनाउने स्वभावको छ।” उहाँले थप्नुभयो, “स्कुल, कलेजमा पढाउने पाठ्यक्रममा हाम्रा शिल्पकलाबारे सिकाउने/बुझाउने नगर्दाको परिणाम भविष्यमा यो सीप नै लोप हुन पनि सक्छ। यस्तो सीप जाने खाली बस्नु पर्दैन। राम्रो बुट्टा बनाउन र जिम्मेवारी लिएर काम गर्न सके काष्ठकलाबाट मासिक दुई लाख रुपियाँ कमाउने कलाकार पनि छन्।” उहाँले नेपालमा प्रचलित शिल्पकलाको पुस्तान्तरणका लागि राज्यले बेलैमा नीति र लक्ष्यसहित काम गर्नुपर्ने सुझाव दिनुभयो।