• ८ मंसिर २०८१, शनिबार

भञ्ज्याङमाथि भट्टेडाँडा

blog

आहा कति रमाइलो दिन आज खुसीको । प्रकृतिलाई आँखामा भेटेको । आज दिनभरि प्रकृतिमै विलीन भई बिताउने योजना बुनेको । प्रकृतिसँग सन्निकटताको अनुभव गर्न हतारिएको । प्रकृतिको मीठो मुस्कानको स्वागतमा पाहुना बनेर प्रकृतिकै पाखाखेरासम्म चहार्न उत्सुक बनेको । भीर, झोर, झाडी, कुनाकाप्चा, घुम्ती, कुइनेटा आदि सबै छिचोलेर प्रकृतिमै सुन्दरताको रस चाख्ने धोको धेरै पहिलेको । स्थानीयपन र पहिचानको रसास्वादन गरी चखिलो मिठासको आभासमा हराउने लालसा । 

पुरानो कान्ति राजपथ हुँदै हामी लेखकद्वय जय छाङ्छा र म नयाँ यात्री नवीन दृश्यको दर्शनमा टीकाभैरवबाट उकालिएका थियौँ । बिहानी प्रहरको प्रकृति असाध्यै मनोरम लाग्थ्यो । हिमाली छटाका छवि लस्करै दन्तमोहनी मुस्कानमा दृश्यमान थिए । पारी पहाड घना जङ्गलले भरिएको थियो । 

तिनपाने भञ्ज्याङमा गाडी रोकिँदा सायद गाडीले पनि सास फेर्यो होला । किनभने गाडीमा अडेसमटेस र उकुसमुकुस । पूरै सिट भरिएर र उभ्याएरसमेत ल्याएको गाडीमा बाटोभरि भेटिए जति मानिस कोच्दा सास फेर्न नै कठिन हुन्थ्यो । गाडी रोकिनुसँगै कोचिएर थिल्थिलो ज्यान भएका यात्री एक–एक गर्दै ओर्लिए । छेउकुनो, झाडी खोज्दै कोही भुइँ भिजाउन थाले । कोही आङ तन्काउन लागे । यद्यपि गाडीको पछाडिका कतिपय यात्री ओर्लिनै पाएका थिएनन् गुरुजीले हर्न बजाएर गाडी गुड्ने सङ्केत गरे ।

हत्तार हत्तार र हस्याङफस्याङ गर्दै यात्री गाडीमा पस्न खोज्ने र भित्रबाट बाहिर निस्किनेबीच जुधाइ प¥यो । कराउने, हकार्ने र रिसाउनेहरूको त्यहाँ कुनै कमी भएन । आपसी हार्दिकता र मित्रवत् बोली र व्यवहारको अवसान भएको क्षण । एकथरिलाई गाडीमा भित्रिनुको हतारो । अनि अर्कोथरिलाई बाहिर निस्किएर एकैछिन भए पनि ‘रिफ्रेस’ हुनुको चौचौ । ‘कठै बरा विचरा’ भन्ने त्यहाँ कोही थिएन । सबै आफ्नै ध्यान र धुनमा ।

त्यो भञ्ज्याङबाट चारैतिरको दृश्य देखिन्थ्यो निकै सुन्दर । तथापि दक्षिण ललितपुरका ग्रामीण बस्ती साह्रै विकटको लाग्यो । मुख्य कुरा यस भेगका बासिन्दाहरूका लागि अझैसम्म सुविधाको बाटोघाटो रहेन छ । गाडीले थचार्ने, पछार्ने, लडाउने आदि गर्ने एक प्रकारले नियमित कार्य नै हुने रहेछ । यसलाई स्थानीय यात्रीहरूले सहजै पचाउँदै आएकाले स्वाभाविक रूपमा लिएको महसुस भयो । 

यति हैरानी खाँदै गाडी चढ्न पाउनु ठूलै भाग्यको कुरा हुने रहेछ । गाडी चढ्नका लागि पनि सास्ती बेहोर्नुपर्ने । पहिल्यै काटेको टिकटमा पनि गाडी चढेपछि सिट नपाइने । एउटै सिटमा ३, ४ जनाको नाम जुधेपछि आपसमा गलफतीको गलपासो । ठेलमठेल, धक्कमधक्का खाँदै खडेबाबा भएर पनि खैरियत नहुने । सिटमा बस्नेहरू पनि हलचल गर्न नसक्ने अवस्थामा । सामानहरूको अवस्था झन् बेहाल । मान्छेजस्तै सामानको अझ बढी कोचाकोच । त्यही सामानमा थचारिएर यात्रीले आफ्नो गन्तव्य पुग्नुपर्ने बाध्यता । कति सामान किचिलीघान । कति पल्सिएर थिल्थिलो । कतिपय सामान परमधामै पुगिसकेको हुँदो हो ।

बागमती गाउँपालिकाको ३ नं. वडा क्षेत्रसम्म पुगेर फर्किंदा स्थानीयको जीवन अत्यन्तै पीडादायी लाग्यो । फर्किंदा हुस्सु र चिसो सिरेटोले प्रकृतिको अघाउँजी आस्वादन गर्नबाट वञ्चितै राख्यो । पारिलो घामको अनुभवै गर्न सकिएन । सिरसिरे चिसो बतास र हुस्सुले नगर्नु ग-यो । 

बर्खामा यहाँ जताततै झरना झर्लान् । तिनको साङ्गीतिक तरङ्ग, अनि घामपानीमा इन्द्रेणी रङ । हो, त्यहाँ अर्को विछट्टकै प्राकृतिक सुन्दरताको उदय हुन्छ । बर्खामासमा आवतजावत गर्नै त्राहिमाम भएपछि झरना, छाँगा–छहराको रमाइलोले मात्र केही हुँदैन । 

तिनपाने भञ्ज्याङबाट भट्टेडाँडा–छवेलीको यात्रा ओहोहो कम कष्टकर हुँदैन । चट्टाने भीरैभीरको बाटो । त्यसमाथि खाल्डाखुल्डी, साँघुरो । कुन बेला माथिबाट पहिरो खस्ला भनी डराउनुपर्ने । 

मुटु हत्केलामा राखेर यात्रा पार गर्नुपर्ने रहेछ । बाटो बनाएर नसक्दै अर्को पहिरो प्रकोपले गरेको काम खत्तमै पारेको पनि देखियो । 

त्यही भञ्ज्याङदेखि हिउँदे हुस्सुलाई छिचोल्दै छिटो र छोटो ठाडो कच्ची गोरेटो पछ्याउँदै उकालिँदा जङ्गलको झोरझाडीमा कतै हराइयो । कहिले कच्ची बाटो भेटिँदा फेरि त्यही बाटोको पछि लाग्दै उकालोमा लम्कियौँ । 

यहाँ लालिगुराँसका बूढाखाडा रूख वर्षौंअघि चट्टाने पखेरा चिरा पारेर ठडिएका । गुराँसे जङ्गलको घना फाँटले भट्टेडाँडा भरिएको देखिन्थ्यो । तर यतिबेला कोपिला लागेर चैत–वैशाखमा त गुराँसका फूलहरूले डाँडै रङ्गिनुपर्छ । परन्तु अहिलेसम्म पनि कोपिला लाग्ने छेकछन्दै थिएन ती बोटहरूमा । जाडोले गुराँसका ज्यान जिङ्ग्रिङ्ग परिरहेका देखिन्थे ।

सुनसान र अनकन्टार पनि कतिसम्म भने त्यति ठूलो जङ्गलमा चराचुरूङ्गीको चिरिबिरी मुस्किलले सुन्न पाइयो । मान्छेको आवतजावत त झन शून्य । मात्र सन्नाटा, मौनता र एकोहोरो चिसो स्याँठ । मुटु कमाउने चिसो । रूखबाट तप्तप पानी चुहिरहेका । झाडीमै हराइसकेको बाटो पहिल्याउनु र भेट्नु पनि सानोतिनो उपलब्धि नै हुन्थ्यो ।

मौसमको प्रतिकूलतामा प्रकृति–रमणको मीठो स्वाद चाख्न पाइएन । हुस्सुको हैरानी पनि कतिसम्म भने सँगैको साथीलाई समेत देख्न नसकिने । बल्ल खै कसरी हो डाँडामा अवस्थित टावरको सेता गोलाकार धूमिल आकृतिले टाकुरामा निर्मित टावर पुगेको बोध भयो । नभन्दै त्यहीँ रहेछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाज अवतरणका लागि सङ्केत सूचक सेतो गोलाकार ‘राडर टावर’ । टावर दायाँ–बायाँ हुँदै जहाज आउने र जाने गर्दारहेछन् । टावरको तल नियन्त्रण कक्षबाट जहाज आगमन र प्रस्थानको सूचना प्रवाह विमानस्थलमा हुँदोरहेछ । यसले सुरक्षित अवतरण र उडानमा सहयोग पुग्ने रहेछ । यस क्षेत्रलाई नेपाली सेनाको भैरवनाथ गणले सुरक्षा गरिरहेको छ । 

भट्टेडाँडा २,३०० मिटरको उचाइमा रहेछ । त्यसैले यहाँबाट हिमाली लस्करका दृश्यहरू आँखैमा ठोक्किन आउने जानकारी त मिल्यो । तर यति कष्ट सहेर यहाँ आइपुग्दा पनि ती दृश्य केही पनि देख्न नपाउँदा हैरानी मात्र भयो । बादल फाटेर ‘हिमाली हिसी’ हेरौँला भन्नु व्यर्थै भयो । बादल यति बदमास भइदियो कि बदलामा त्यसविरुद्ध हामीले गर्न सक्ने केही थिएन ।

स्मरणीय छ, वि.सं. २०४९ साउन १२ गते टावर नजिकै सातकन्यामा पाकिस्तानी एयरलाइन्सको हवाइजहाज दुर्घटना हुँदा १६७ जनाको ज्यान गएको थियो । त्यहीबेलादेखि भट्टेडाँडा अझ बढी चिनारीमा आयो । टावर परिसरलाई अझ व्यवस्थित गरिएको थाहा भयो । बाक्लो जङ्गल र अँध्यारो बाटो । कच्चीको त्यही बाटो पछ्याउँदै अकालमा मरण हुनेहरूप्रति श्रद्धाञ्जलि चढाएर हामी देउरालीतिर झर्यौँ ।

देउराली, हो त्यहीँबाट देखियो दृश्य सुन्दरी ! हुस्सु खुलेपछिको सन्ध्याकालीन प्रकृति । कति मनोरम, कति आल्हादित । मनै पवित्र भएर चोखिनेजस्तो । हेर्नुको आनन्द कति मीठो । देख्नुको दृश्य कति सुन्दर । प्रकृतिको मौलिक वानस्पतिक सुगन्धमा लट्ठ पर्दै देउरालीदेखि बुरुन्चुली हुँदै टीकाभैरवसम्मको ठाडो ओरालो खुरुरु, खुरुखुरु ओर्लिएको ।

वास्तवमा प्रकृतिमै छ ज्ञान–गरिमाको विशालता । मौन सन्नाटामा पनि जिन्दगीका सुमधुर सङ्गीत र शिक्षा । प्रेरणादायी प्रकृतिलाई पाएर आज हामी दुवै यात्री गद्–गद् । 

कसरी बिर्सन सकिएला र दिनभरि तिम्रै पाखा–पखेराहरूमा लडिबुडी खेल्दै हिँडेको । तर राति भएपछि न गाडी, न गाँस, न त बासको व्यवस्था । अर्कोतिर हिँडाइको थकाइ अनि खुट्टा दुखाइको चोट ! यद्यपि भोक र थकाइ अनि अँध्यारो केही होइन सुन्दर प्रकृतिलाई भेटेर फर्किंदा । भोकले सताउनु केही भएन प्रकृतिलाई देखेर आउँदा । चिसो सिरेटो, सन्नाटा र शून्यता पनि केही भएन प्रकृतिलाई हेरेर फर्किंदा । प्रकृति प्रेमको पवित्रता प्रकृतिसँगको सम्मिलनमा सादृश्य भयो । प्रकृतिसँगको सान्निध्य पाएर हामी हर्षित–हर्षित हरपल । ऊर्जाशील अनुभूतिका अथाह फाइल बोेकेर अन्धकारलाई चिर्दै फर्किएको ।

ओ हो ! प्रकृतिसँगको साक्षात्कारमा तिमीलाई भेटेर फर्किएको साँझ कति स्मरणीय भयो । हाम्रो लेखकीय मन ऊर्जाशील बनेर प्रकृतिमाथि आलेख लेख्न तत्पर भए । एउटा सुन्दर सिर्जनाका लागि दुःख झेल्नुपर्छ अनगन्ती । थकाइ, भोक र प्यास सबै–सबै बिर्सनुपर्छ कति–कति । 

यद्यपि यात्रीको जब इच्छा पूरा हुन्छ आहा कति खुसी ! कति बेहोसी । कति मद्होसी । भेटिन्छ ऊर्जा–उपलब्धि दिनभरिको बुर्कुसीपछि । यस्तै भयो आज लगातार हिँडेपछि... ! एकैछिन भए पनि सन्ध्याकालीन विछट्टकै प्रकृतिलाई देखेपछि... !