• ७ वैशाख २०८१, शुक्रबार

हिन्दु–मुस्लिम एकताको धार्मिक मेला सुरु

blog

सिराज खान 

नेपालगञ्ज, माघ २२ गते । हिन्दु–मुस्लिम समुदायबीच एकता तथा प्रगाढ सम्बन्ध बढाउने प्रतीकका रूपमा लाग्ने प्रसिद्ध धार्मिक मेला बाँकेको नरैनापुरमा सुरु भएको छ । 

प्रसिद्ध मुस्लिम सुफिसन्त हजरत खलिफा नुर अहमद शाहको समाधि स्थलमा प्रत्येक वर्ष सो मेला आयोजना हुने गरेको छ । धार्मिक मेला शुक्रबार रातिबाट सुरु भएको हो । धार्मिक तथा सामाजिक सद्भावको अद्भूत नमुना बनेको यस धार्मिक मेलाको उद्घाटन लुम्बिनी प्रदेशका बिनाविभागीयमन्त्री कृष्णा केसी र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गर्नुभयो । 

नरैनापुरका हिन्दु–मुस्लिम मात्र नभई देशका विभिन्न भागका हिन्दु–मुस्लिमसँगै सीमापारि भारतबाट पनि सयौँ हिन्दु–मुस्लिम धर्मावलम्बी सहभागी हुने गर्छन् । सो मेलालाई धार्मिक एकताको मेलाका रूपमा मनाइने गरिएको पालिका अध्यक्ष शाहले बताउनुभयो । 

प्रसिद्ध सुफिसन्त खलिफा नुर अहमद शाहको समाधिमा मेलाको बेला आउने हिन्दु–मुस्लिम जोकोहीको पनि मनोकामना पूरा हुँदै आएकाले मेलामा आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको नरैनापुर–१ का वडाध्यक्ष इसहाक अहमद शाहले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष माघ महिनामा समाधि विकास समितिले प्रसिद्ध बाबा आस्तान ए हजरत खलिफा नुर अहमद शाहको उर्स धुमधामका साथ मनाउँदै आएको छ । 

मेलामा रातिको समयमा जलसा (धार्मिक प्रवचन) हुँदै आएको छ भने भाकल गरेकाले दैनिक रूपमा बाबाको समाधिमा फातिहा, नियाज तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् ।

बाँकेको नेपालगञ्जदेखि करिब ४७ किलोमिटर पूर्वमा अवस्थित नरैनापुर गाउँपालिका–२ आस्तान ए हजरत खलिफा नुर अहमद शाहको समाधि स्थलमा मेला लाग्दै आएको छ ।