• १४ मंसिर २०८१, शुक्रबार

परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता

blog

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटपछि । तस्बिर : परराष्ट्र मन्त्रालय

काठमाडौं, माघ २१ गते। परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले शनिबार साँझ राष्ट्रपति विक्रमासिङ्घेसँग भेट गर्नुभएको हो। भेटमा दुई देशबीचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

श्रीलङ्काका राष्ट्रपतिसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदान–प्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन आग्रह गर्नुभएको थियो।

साथै मन्त्री पौड्यालले श्रीलङ्काको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहनुभएका भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो।

ती देशहरूका विदेशमन्त्रीहरूसँगको भेटमा उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरूबीच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेलगायत विषयमा जोड दिनुभएको मन्त्रालयले जनाएको छ।

यसअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्काकाको भ्रमण पूरा गरी भोलि आइतबार स्वदेश फर्कर्नुहुनेछ। रासस