• १३ साउन २०८१, आइतबार

सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको अध्यक्ष नेपालको दाबी

blog

नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठकमा सहभागी हुनुहुँदै अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिकारी । तस्बिर : नेकपा एकीकृत समाजवादी

काठमाडौं, माघ २१ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भइसकेको दाबी गर्नु भएको छ ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकिर समेत गर्नुभयो । ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा आज (शनिबार)बाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठक उद्घाटन गर्दै उहाँले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो ? भनी प्रश्न समेत गर्नु भयो ।

संसद्को रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरू, राजतन्त्रको वकालत गर्नेहरू, संविधान, कानुन र नियमको पालना नगर्नेहरू सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गर्नु भयो ।

उहाँले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई सङ्केत गर्दै जनताले उनीहरूको विरोधमा बोल्न थालेको समेत बताउन भयो ।

‘‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौँ–खटपट सुरु भइसकेको छ । यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ? यसै भन्न सकिने अवस्था छैन । हाम्रो ध्यान अरू कुरामा होइन । देश सही दिशामा अघि बढ्छ कि बढ्दैन भन्नेमा छ । संविधानको पालना हुन्छ कि हुँदैन भन्नेमा छ । संसद्को रोष्टममा उभिएर संविधानको विरोध गरिएको छ ।,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘राजतन्त्रको वकालत गरिएको छ । नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्ने कुरा गरिएको छ । संविधानको उल्लङ्घन गर्ने मान्छेहरू सरकारको जिम्मेवारीमा बसिरहेका छन् भने त्यसले सङ्कटको सन्देश दिन्छ । त्यसैगरी जसले आफैँले संविधान, कानुन र नियमको पालना गर्दैन । आदर्शको उदाहरण प्रस्तुत गर्दैन । त्यस्ताले के दिन्छन् जनतामा सन्देश । यी सबै कुराहरूले गर्दा यो सरकारप्रति, अहिलेका मन्त्रीहरूप्रति मान्छे आशावादी हिजो थिए । अहिले निराश हुन थालेका छन् । भोट दिएर जिताउनेहरू नै उनीहरूको विरोधमा बोल्न थालेका छन् ।’’

अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।