• ७ वैशाख २०८१, शुक्रबार

एक साताभित्रै सुधारको पहल गर्ने प्रतिबद्धता

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ २१ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग, वाणिज्य क्षेत्रको अवस्था सुधार गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । शुक्रबार झापा जिल्लाको दमकमा उद्योगी व्यवसायीसँग छलफल गर्दै उहाँले विद्यमान समस्या सामधानका लागि ठोस कदम चाल्ने बताउनुभयो । यसका लागि मन्त्रालयले आन्तरिक तयारी सुरु गरेको उहाँले जानकारी दिनुभयो । भूकम्प, नाकाबन्दी र कोभिड–१९ महामारीको अवस्थामा भन्दा पनि पछिल्लो १८ महिनामा उद्योग तथा व्यापार क्षेत्रमा धेरै समस्या आएको उहाँले बताउनुभयो । 

“कतिपय समस्या समाधानका लागि ऐन, कानुन, नीति, नियम तथा कार्यविधि बनाउन तथा परिवर्तन गर्न आवश्यक रहेको पाइएकाले यस विषयमा अन्तरमन्त्रालय समन्वयको काम भइरहेको छ,” मन्त्री भण्डारीले भन्नुभयो । उच्च ब्याजदरलगायतका विषय उठाएका उद्योगी व्यवसायीलाई उहाँले एक साताभित्रै केही न केही माग सम्बोधन हुनेमा आश्वासन दिनुभयो । “नीतिगत रूपमा भएका समस्या सामधान गरेर एक साताभित्र तपाईंहरूलाई केही न केही राहत हुन्छ भन्ने कुरामा विश्वास दिलाउँछु,” मन्त्री भण्डारीले भन्नुभयो । 

सो अवसरमा उद्योगी व्यवसायी गणेशबहादुर बस्नेत, नन्दी अधिकारीलगायतले विभिन्न नीतिगत समस्याका कारण समस्या आएको जानकारी दिँदै मन्त्री भण्डारीसँग समस्या सामधान लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।