• ७ वैशाख २०८१, शुक्रबार

मलेसिया सरकारसँग सहकार्य गर्न तत्पर : प्रम

blog

काठमाडौँ, माघ २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणका विषय सुनिश्चित गर्न आग्रह गर्नुभएको छ। नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुकसेरी सैफुद्दिन नासुसन इस्मालीसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हकहितका विषयमा छलफल गर्नुभएको हो। 

प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारले नेपाली श्रमिकको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, “मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ।” उहाँले मलेसिया सरकारका तर्फबाट श्रमिकको न्यूनतम ज्याला एक हजार दुई सय रिङ्गेटबाट वृद्धि गरेर एक हजार पाँच सय रिङ्गेट पु-याएकोमा धन्यवाद दिनुभयो। उहाँले ‘फ्री भिसा र फ्री टिकट’को व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक इमानदार र परिश्रमीका रूपमा परिचित भएको चर्चा गर्दै भन्नुभयो, “आप्रवासन क्षेत्रलाई थप खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउन मलेसिया सरकारको सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ।” 

उहाँले मलेसिया जाने श्रमिकको सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्न तथा मलेसियाबाट सिकेको व्यावसायिक ज्ञान र दक्षतालाई नेपालमा उपयोग गर्ने वातावरण बनाउनका लागि समेत दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। मलेसियाका गृहमन्त्री नासुसन इस्मालीले मलेसिया सरकारले विदेशी श्रमिकलाई भित्र्याउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताउनुभयो। उहाँले मलेसियाका पाँचवटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिँदै कामदारको कल्याणका लागि नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

नेपाल र मलेसियाबीच श्रमिक सहकार्यका विषयमा यसअघि सम्पन्न समझदारीपत्रलाई परिमार्जन गर्ने सहमति भएको छ। यसका लागि दुवै पक्षका सम्बन्धित निकायले आपसी सहकार्य गर्नेछन्। दुवै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा संवाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने गरी छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो। मलेसियाका गृहमन्त्री इस्मालीले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग पनि औपचारिक भेटवार्ता गर्नुभएको थियो।