• १५ चैत २०८०, बिहिबार

सहकारीका बचतकर्ताको रकम जोखिममा

blog

छवि पाण्डे

बुटवल, माघ २१ गते । रुपन्देहीका केही सहकारी संस्था सङ्कटमा रहेको पाइएको छ । बुटवलमा रहेको शिवशिखर, सुप्रिम र आगन्तुक सहकारीका बचतकर्ताले रकम निकाल्न नपाएको गुनासो सार्वजनिक भएपछि सहकारीहरू सङ्कटमा रहेको पाइएको हो । 

लुम्बिनी प्रदेश सहकारी विकास बोर्डको उपाध्याक्ष टीकाराम पोखरेलले प्रदेशमा सञ्चालनमा रहेका केही सहकारी संस्थामा समस्या देखिएकाले सरकारले कानुुनी प्रक्रिया अगाडि बढाएको बताउनुभयो । 

रिपोर्टर्स क्लब लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले सहकारीको मर्मभन्दा बाहिर बचतकर्ताको रकममा सञ्चालकले चलखेल गर्दा यस्तो समस्या देखिएको बताउनुभयो । 

उहाँले बर्दियाको नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले आफूखुसी लगानी गर्दा समस्या आएको उदाहरण दिँदै सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सक्रियताले मात्र समाधान गर्न सकिने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार भीमप्रसाद तिवारीले सहकारीमा सुशासन नभएको बताउँदै रुपन्देहीका ५० भन्दा धेरै सहकारीमा पुगेर सुधार गर्न निर्देशन दिएको बताउनुभयो । 

सहकारी संस्थाले सहकारीको  मूल्य र मान्यता पालना नगरेको, गलत लेखापरीक्षण गरी संस्था चलाएको जस्ता कारणले पछिल्लो समय सहकारीमा समस्या देखिएको तिवारीले बताउनुभयो । 

प्रदेश बचत तथा ऋण सहकारी सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित सहकारी संस्थामा समस्या नभएको दाबी गर्नुभयो । उहाँले २०६४ सालमा बुटवलमा रहेको स्वर्णिम सहकारीमा पनि आर्थिक अपारदर्शिताका कारण यस्तै समस्या आएको बताउँदै त्यसको अनुगमन गरी नागरिकको पैसा फिर्ता गर्न सफल भएको जानकारी दिनुभयो । 

राष्ट्रिय सहकारी बैङ्कको सञ्चालक सदस्य माधवलाल देवकोटाले सहकारी संस्थाले कारोबारी सदस्य बनाएका कारण समस्या निम्तिएको जनाउँदै वित्तीय अनुशासन पालना नहुँदा सहकारी संस्था धरापमा पर्न थालेको बताउनुभयो । 

उहाँले सहकारी सञ्चालनका लागि बाहिरी ऋण लिने चलन रहेको र क्षमताभन्दा बढी रकम सङ्कलन गरी उक्त रकम बाहिर लगानी गरेको पैसा नउठेपछि बचतकर्तालाई फिर्ता गर्न नसकेको अवस्था केही सहकारी संस्थाको देखिएको बताउनुभयो । 

साक्षात्कार कार्यक्रममा शिवशिखर सहकारीबाट पीडित बनेका यज्ञ सापकोटाले सहकारी संस्थाले यसैगरी नागरिकको पैसा नदिएमा सहकारीबाट बचतकर्ताले पैसा फिर्ता लिन बाध्य हुने बताउनुभयो । उहाँले आफूले १० हजार रुपियाँसमेत निकाल्न महिना दिनदेखि धाउँदा पनि नपाएको गुनासो गर्नुभयो ।