• १३ वैशाख २०८१, बिहिबार

नेपालको विकासप्रति भारत सरकार सधैँ प्रतिबद्ध : राजदूत श्रीवास्तव

blog

नेपाल–भारत मैत्री युवा सङ्घ केन्द्रीय समितिले जनकपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनुहुँदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव । तस्बिर : न्यूज एजेन्सी

जनकपुरधाम, माघ २० गते । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल–भारत मैत्री युवा सङ्घ केन्द्रीय समितिले शुक्रबार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै राजदूत श्रीवास्तवले सो कुरा बताउनुभएको हो ।

राजदूत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न पूर्णरुपमा लागिपरेको स्पष्ट पार्नुभयो ।


उहाँले जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारत सरकार लागिपरेको बताउनुभयो ।राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमा नै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल र भारतबीच दुई देशको सम्बन्ध त छँदैछ । त्योभन्दा पनि बढी जनस्तरको सम्बन्ध छ । भारतको इच्छा नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने हो । मित्रताको साथमा विकासमा पनि भारतले जोड दिएको छ । किनकि नेपालको विकास भयो भने त्यसले भारतलाई पनि फाइदा हुने हो । ’’

राजदूत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने बताउनुभयो ।