तिमी नआऊ, होस् तिमी नआऊ यस्तरी पुज्न मलाई, बुझ्न मलाई फूलहरू चुँड्दै, मुठ्याउँदै
श्रद्धा चढाउन होस् नआऊ मलाई ।
आउँदा दियो र सलाई बोकेर आउँछौ
र सलाई कोरेर दियो बालेर मलाई हेर्छौ
सक्छु भने मानवीय छल गर्न सक्छु ईश्वरीय छलमा विफल छु म ।
स्पष्ट मान्छे हुँ
ईश्वर होइन
छैन, ईश्वर बन्नु देखिनु पनि छैन तिमी नआऊ भ्रम जल चढाउन अयौ त त्यस्तरी तिर्खाएको छैन म ।
हुन्छ, तिमी आऊ, फूल मारेर हत्यारा नआऊ
दियो बालेर मलाई हेर्न नआऊ ।
त्यसै पनि दियोको धुवाँले बिसन्चो बन्छु अचानक
तिमी आऊ, म तिम्रै उज्यालो पाटामा छु, त्यै आऊ ।
तिम्रो उज्यालो कसैले खोसेपछि
दियो जलाउन सिक्यौ तिमीले
जब सबैले एक्लो बनाए, एक्लिएपछि
तब यस्तरी मलाई फेरि खोज्यौ तिमीले
तिमी आऊ, आउँदा तिमीलाई मात्र लिएर आऊ फर्किंदा तर मलाई लिएर अहँ नजाऊ, नजाऊ ।
सिकताम, पश्चिम सिक्किम, भारत