• १२ मंसिर २०८१, बुधबार

टङ्कप्रसाद आचार्यको जन्मघरलाई सङ्ग्रहालय बनाइने

blog

प्रजा परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नवलपरासीस्थित जन्मघर । तस्बिर: गोपी ज्ञवाली

गोपी ज्ञवाली 

नवलपरासी, माघ २० गते । नेपाली इतिहासको पहिलो राजनैतिक पार्टी प्रजा परिषद्का अध्यक्ष टङ्कप्रसाद आचार्यको नवलपरासीस्थित जन्मघरलाई सङ्ग्रहालय बनाइने भएको छ ।

राणाशासन विरुद्धका प्रजातान्त्रिक योद्धा एवं पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको परासीस्थित जन्मघरलाई लुम्बिनी प्रदेश सरकारले सङ्ग्रहालय बनाउनका लागि लुम्बिनी प्रदेशबाट ५० लाख रुपियाँ रकम विनियोजन गरेको टङ्कप्रसाद आचार्य प्रतिष्ठानका सदस्य एवं प्रदेश सरकारका पूर्वमन्त्री बैजनाथ चौधरीले बताउनुभयो । 

पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले राणाशासन विरुद्ध सङ्घर्ष गर्नका लागि विक्रम संवत् १९९३ मा प्रजा परिषद् नामको नेपालको पहिलो राजनैतिक पार्टी गठन गर्नुभएको थियो । पूर्व प्रधानमन्त्री आचार्य नेपालको राजनैतिक इतिहासमा छोटो अवधिको पार्टी नेता भए पनि राणाशासनको अन्त्यका लागि गरिएको सङ्घर्षको आधारशिला थियो । नेपाली राजनैतिक इतिहासमा नेपाल प्रजापरिषद् पहिलो राजनैतिक पार्टी थियो जसका संस्थापक अध्यक्ष आचार्य हुन् हुन्थ्यो ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित आचार्य जन्मेको घर अहिले  जीर्ण अवस्थामा छ भने यो इतिहासको सम्मानका लागि टङ्कप्रसाद आचार्यको सङ्ग्रहालय बनाउने योजनामा काम अघि बढेको लुम्बिनी प्रदेश पूर्वमन्त्री एवं प्रतिष्ठानका सदस्य चौधरीले बताउनुभएको छ । 

प्रजातान्त्रिक आन्दोलनका अभियन्ता स्वर्गीय टङ्कप्रसाद आचार्य जन्मेको घरलाई पुरातात्त्विक स्मारकको रूपमा संरक्षण गर्नका लागि दुई वर्ष पहिला प्रदेश सरकारले बजेट विनियोजन गरे पनि रामग्राम नगरपालिकाले समयमा काम नगरे पछि संरक्षणको काम अलपत्र परेको थियो । 

प्रजातान्त्रिक आन्दोलनका अगुवा टङ्कप्रसाद आचार्यको जन्म विक्रम संवत् १९६९ मङ्सिर १७ गते नवलपरासीको सदरमुकाम परासीमा भएको थियो । वहाँका बुवा परासी अड्डामा जागिरे भएको बेलामा टङ्कप्रसाद आचार्यको जन्म परासी मालपोत कार्यालय परिसरमा रहेको घरमा भएको थियो । उक्त भवनलाई ऐतिहासिक स्मारकको रूपमा विकास गरिने गरी प्रदेश सरकारले योजना बनाएको पूर्वमन्त्री चौधरीले बताउनु भयाे । 

आर्थिक वर्ष २०७७-०७८ मा लुम्बिनी प्रदेश सरकारले सो स्मारकको जीर्णोद्धारका लागि सशर्त अनुदानका रूपमा भनेर रामग्राम नगरपालिकालाई ५० लाख रकम उपलब्ध गराएको भए पनि नगरपालिकाले समयमा काम नगरेका कारण उक्त भवनको जीर्णोद्धार हुन सकेको थिएन । टङ्कप्रसाद आचार्य प्रतिष्ठान, लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिकाको सहकार्यमा टङ्कप्रसाद आचार्यको जन्मघरलाई सङ्ग्रहालय बनाउने योजना बनाइएको रामग्राम नगरपालिका प्रमुख धनपत यादवले बताउनुभयो । 

राणाशासनको विरोधमा चेतना फैलाए बापत राणा सरकारले धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्दलाई फाँसी दिएका थिए भने ब्राह्मण परिवारका भएकाले रामहरि शर्मा र टङ्कप्रसाद आचार्यलाई आजीवन कारावासको सजाय सुनाएका थिए । आचार्यका बुवा राणा सरकारकै कर्मचारी गर्ने भए पनि टङ्कप्रसादले राणाको कार्यप्रति विरोध गर्नुभएको थियो ।