• ११ वैशाख २०८१, मङ्गलबार

अनुबद्ध युवा तिमी

blog

वासना मत्त आवेग कामना तीव्र वेदना

अनुशासनको मृत्यु कामकेलि विडम्बना

पराग यौन तृष्णा हो पिई कैल्यै नरित्तिने

चेतना हो युवाशक्ति पालुवाझैँ नओइलिने


युवा विचारको भोको प्रेम भोको छ यौवन

यौन हो भावना मूल रति हो ः कामदर्शन

वात्स्यायनले बाले अखण्ड कामको दियो

विकासवादले भन्छ ‘मान्छे यौनिक जीव हो’


कामको अन्ध आवेग काँडाझैँ भित्र गड्दछ

भोक, भोग र सम्भोग अतृप्ति अझ बढ्दछ

निषिद्ध देशको साँचो टाँचा मारेर निर्भय

डाकाझैँ पुग्छ आवेग बिना निम्ता खुला घर


श्लील अश्लील सामग्री यौनका हुन् उपासना

मानौँ सामाजिकी प्राणी भिन्न जातीय चेतना

ठूला व्यक्ति खुला यौन वर्णशङ्कर सन्तति

बाँधा यौनिकताभित्र कहाँ स्वच्छ छ संस्कृति ?


बेकामे कामको लाठो जलभित्र डुबेपछि

बासी फल चढाएर अर्चना के सुहाउँछ

निश्चेतनको मुस्लो खलाँती मात्र खोज्दछ

जवानी हैन ऊर्जा यो युवा सङ्कल्प गर्वित


प्रतिभान्य नेताका चुड्कीमा देश मैलियो

देश बन्न कहाँ सक्नु अर्काको स्वार्थ मौलियो

भ्रमका पिँजडा भित्र सुगाबन्दी युवा किन

गोपीकृष्ण रटी धेरै भुल्यौ मौलिक चेतना


कामान्ध वाण हानेर काम भस्म गराइद्यौ

यौनदास तिमी हैनौ प्लेटोका आत्मबिम्ब हौ

कामका बाढीमा बग्दा काम बढ्छ अहर्निश

युवा यही श्रम माटामा छर बन्दछ उर्वर

हुँदैन देश सम्पन्न युवा देशी भएपछि

विवेक चेतना बिर्सी भाडाका भइदिएपछि

हन्तकालीहरू देखी को बन्छ आत्मनिर्भर

देशभक्त युवाबाट देश बन्छ समुन्नत ।