• ६ वैशाख २०८१, बिहिबार

दुई अध्यादेश स्वीकृत

blog

गण्डकी, माघ १९ गते । गण्डकी प्रदेश सभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । आज (बिहीबार) बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गरेको हो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले अध्यादेशलाई स्वीकृत गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो । बैठकको शून्य समयमा प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले पृथ्वीराजमार्गको पोखरा मुग्लिन सडकखण्ड निर्माण भइरहेका अवस्थामा बाटोमा पर्ने बिजुलीका पोलले समस्या पारेको भन्दै उक्त पोल चाँडो व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सदस्य कुसुम बुढा पुनले मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र अवस्थामा रहेको र पटक–पटक म्याद थप हुने र काममा ढिलासुस्ती हुने गरेको जनगुनासो बढेको बताउनुभयो । शून्य समयमा सदस्य चम्पादेवी खड्का, जीतप्रकाश आले मगर, दोर्णकुमार कुँवर, फणीन्द्र देवकोटा, विकल शेरचन, विमला गौचन, सरस्वती अर्याल तिवारी र सुधीरकुमार पौडेलले समसामयिक विभिन्न विषयमा प्रदेशसभा एवम् सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य सरस्वती गुरुङले आफ्नै आम्दानीमा प्रदेश चल्ने किसिमको वातावरण निर्माणका लागि सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अर्का सदस्य जीतबहादुर शेरचनले प्रदेशमा उत्पादनमा जोड दिँदै समृद्धि हासिल गर्नेतर्फ लाग्नु जरुरी रहेको बताउनुभयो । महेश भट्टराईले जनचाहना अनुरूप आर्थिक समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विशेष समयमा सदस्य भक्तबहादुर कुँवरले नन्दप्रसाद न्यौपाने, सुशीला सिम्खडा, विन्दु अधिकारी पहाडी, भोजराज अर्याल, गणेशमान गुरुङ, दमयन्ती रुचाल र दिलमाया पौवीले बोल्नुभएको थियो । अर्को बैठक माघ २० गते दिनको १ बजे बस्नेछ ।