• १२ वैशाख २०८१, बुधबार

हिउँदे वर्षा नहुँदा सुख्खापन बढ्यो, तत्काल पानी पर्ने सम्भावना छैन

blog

काठमाडौं माघ २० गते। यो वर्ष माघ महिनाको मध्य हुँदासम्म हिउँदे वर्षा भएको छैन। हिउँदे वर्षा नहुँदा किसान सबैभन्दा बढी प्रभावित भएका छन्। हिउँदे बालीनालीमा यसले सिधा असर गरेको छ। लामो समय वर्षा नहुँदा प्रदूषण बढेको छ। पानी नपर्दा सुख्खापनसँगै माघ महिनामै तापक्रम बढेको छ। 

जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य पानी परे पनि देशको मध्य र पूर्वमा पानी पर्न सकेको छैन। अहिले तत्काल पानी पार्ने  कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको उहाँको भनाइ छ। मौसमी प्रणाली विकसित नभएकाले यो वर्ष हिउँदे वर्षा नहुने उहाँको भनाइ छ।

 उहाँले भन्नुभयो, “नेपालमा हिउँदे वर्षा गराउने प्रणाली कमजोर रुपमा प्रवेश गरेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र हल्का वर्षा गराएर उक्त प्रणाली निष्क्रिय भएको छ। अब तत्काल कुनै प्रणाली विकसित हुने सम्भावना पनि छैन।” 

उहाँका अनुसार मङ्सिर १६ देखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समयका रुपमा लिने गरिन्छ। माघ १९ गते बितिसक्दासमेत पानी पर्न सकेको छैन। किसानले हिउँद याममा लगाउने बालीनाली पानी नपरेका कारण सुक्न थालेका छन्। यसले उत्पादनमा कमी आउने भन्दै किसान चिन्तित छन्। 

नेपालमा दुई मौसमी प्रणालीले पानी पार्ने गर्दछ। गृष्मयाममा पूर्वबाट आएको मौसमी प्रणालीले पानी पार्दछ भने हिउँदमा पश्चिमी वायुले पानी पार्दछ। यसपालीको नेपालमा प्रवेश गरेको पश्चिमी वायुको आद्रता नै कम भएका कारण प्रणाली राम्रोसँग विकसित हुन नपाउँदै निष्क्रिय भएको मौसमविद्को भनाइ छ।

हिउँदमा वर्षा गराउने पश्चिमी वायुको प्रभाव हो। अहिले पश्चिमी वायुको प्रभाव सामान्य भए पनि शक्तिशाली हुन नसक्दा वर्षा हुन सकेको छैन। हिउदे वर्षा नहुँदा गतवर्षभन्दा यो वर्ष तापक्रम केही बढ्ने पौडेलको  भनाइ छ। मौसमविद् पौडेलले भन्नुभयो, ‘हिउँदे वर्षा नहुँदा यो वर्ष गतवर्षको तुलनामा तापक्रमको मात्रा केही बढी हुने देखिन्छ। यो महिनामा पनि गत वर्षको भन्दा बढी तापक्रम छ। काठमाडौं उपत्यकाको तापक्रम केही बढी हुने देखिन्छ।’ गत वर्ष माघ महिनामा काठमाडौं उपत्यकाको तापक्रम २३ डिग्री सेल्सियस मापन गरिएको थियो। तर अहिले तापक्रम २५ डिग्री सेल्सियस पुगेको छ ।

देशका पहाडी तथा ताराई क्षेत्रको मौसममा केही बदली आए पनि तत्काल वर्षा हुने कुनै सम्भावना नरहेको उहाँको भनाइ छ। यस्तै हिमाली क्षेत्रमा पनि गतवर्षको भन्दा कम मात्रामा हिमपात भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो।  गतवर्ष हिउँदे वर्षा मङ्सिर, पुस, माघ र फागुन महिनामा भएको थियो। नेपालमा हिउँदयाममा औषतमा ६० मिलिमिटर पानी पर्दछ। तर गतवर्ष औसतभन्दा बढी १०० मिलिमिटरसम्म पानी परेको थियो।  तर यो वर्ष अहिलेसम्म जम्मा ७.९ मिलिमिटर मात्र पानी परेको छ। 

गतवर्ष हिमाली क्षेत्रमा औषतभन्दा बढी हिमपात भएको थियो। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रमा मात्र हिमपात भएको छ। मौसमविद् मानन्धरका अनुसार माघ र फागुन नै सुख्खा हुने देखिएको छ। चैतबाट प्रि मनसुन सुरु हुने भएकाले त्यसपछि मात्र पानी पर्ने सम्भावना छ। 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।