• ६ वैशाख २०८१, बिहिबार

सांसदले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छ : सभामुख घिमिरे

blog

प्रतिनिधि सभाका सदस्यहरुका लागि दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख देवराज घिमिरे । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ १९ गते । सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिकका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘‘हामीप्रति देशले ठूलो अपेक्षा राखेको छ, यसका आफ्नै खालका प्रक्रियाहरू छन्, परम्पराहरू छन्, पद्धतिहरू छन्, यसलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नुपर्नेछ । विगतलाई फर्किएर हेर्दा, हाम्रा आचार, व्यवहारहरू कतिपय मानेमा जनउत्तरदायी हुन नसकेका छन् भने कतिपय हामीले विचार गरेका हाम्रो वस्तुपरिस्थितिको बारेमा उल्लेखनीय उपलब्धिहरू पनि छन् ।’’ 

उहाँले नागरिकका समस्यहरुको चाङ बढ्दै गइरहेकाले नागरिकका समस्याहरूलाई समाधान गर्न संसद्मा आफ्नो भूमिकालाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । सभामुख घिमिरेले विगतमा कतिपय सांसदहरूको आचार, व्यवहारहरू जनमुखी हुन नसकेको भन्दै संसद्मा आइसकेपछि जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्ने हिसाबबाट अघि बढ्न सुझाव दिनुभयो ।

विगतमा संसद्मा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदहरूले आफ्नो संसदीय भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुहुँदै सभामुख घिमिरेले नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदहरूको काम खोजिरहेको बताउनुभयो ।

‘‘पहिलो पल्ट सबै नयाँ नै हुन्छ, केही सङ्ख्या दोहोरिएर आउने कुरा बेग्लै हो, तर नयाँले पूरा गर्नुपर्ने दायित्व के हो ? कुन तरिकाबाट काम गर्न सक्दछौँ । गर्ने अभ्यासहरू कस्ता छन्, सामान्यतया यी कुराहरू अहिलेसम्मको अभ्यासमा हेर्दा, नयाँ संसद् बनिसकेका र धेरै सांसदहरूले विगतमा योगदान गर्नुभएका कुराहरू छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘यी सबै काम गर्दा कत्तिको जनउत्तरदायी भएर काम गरेका छौँ ? विषयमा आधारित भएर गर्नसकेका छौँ कि छैनौँ ? हामीलाई निर्वाचित गर्ने नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट काम खोजिरहनुभएको छ । छोटो समयमा नै संसदीय गतिविधिले नेपालमा शिक्षा दिने किसिमको भूमिका हामीले खेल्नुपर्छ ।’’

सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने बताउनुभयो ।