• १४ मंसिर २०८१, शुक्रबार

कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने

blog

काठमाडौं, माघ १९ गते । नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले संसदभित्रको व्यस्तताका कारण केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही समयका लागि सरेको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा कांग्रेस रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाली कांग्रेसको कार्यसमितिको बैठक बस्यो । आगामी २२ गते राष्ट्रिय सभाको उपाध्यक्षका निमित्त उम्मेदवारी दर्ता गर्ने र २३ गते निर्वाचन हुने कार्यक्रम छ । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको बारेमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेका छौँ । अर्को नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेका छौँ । संसदभित्र व्यस्तता भएकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही समयका लागि सरेको छ । राष्ट्रिय सभाको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा पनि हामी अरु राजनीतिक दलसँग छलफलका क्रममा छौँ ।’’

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले सोही अनुसार वार्ताका लागि बोलाए कांग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रस्ताव र एजेण्डा बाहिरिएपछि कांग्रेस छलफलका लागि जाने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति भनिरहनुभएको छ । उहाँले सर्वदलीय बैठकमा पनि भन्नुभएको थियो । हामी सहमति गरेर जाने कुराको बारेमा छलफल गरेर जान तयार छौँ । उहाँको प्रस्ताव, एजेण्डा के हो भन्नेबारेमा सोचिरहनुभएको छ होला, हामी छलफलका लागि तयार छौँ, आफैँ पनि राष्ट्रपतिको निर्वाचनका लागि तयारी गरिरहेका छौँ ।’’

प्रमुख सचेतक लेखकले नेपाली कांग्रेस राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको बताउनुभयो ।