• १२ मंसिर २०८१, बुधबार

देशभरका ११ उपमहानगरको सम्मेलन बुटवलमा हुँदै

blog

छविलाल पाण्डे  

बुटवल, माघ १९ गते । बुटवलमा देशभरका ११ वटा उपमहानगरपालिकाको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । 

बुटवलमा बुधवार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका उपमहानगरका बीचमा अनुभव आदानप्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरूपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो ।

माघ २१ र २२ गते हुने सम्मेलनमा देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहनेछ । 

उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करिब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्यालले उपमहानगरहरूका बीचमा आपसी समन्वय र सहकार्यको उद्देश्यका साथ सम्मेलन हुने र यसले देशलाई नै लाभ हुने बताउनुभयो । उहाँले स्थानीय सरकारहरू साझा मुद्दा लिएर एकसाथ अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको बताउनुभयो ।