• १२ मंसिर २०८१, बुधबार

गण्डक नहरका पुल जीर्ण

blog

परासी समाचारदाता 

नवलपरासी, माघ १९ गते । समयमै मर्मत नहुँदा भारतीय भूमि सिँचाइका लागि नवलपरासीबाट लगिएको भारतीय गण्डक नहरमा बनेको प्रतापपुर क्षेत्रको पुल जीर्ण बनेको छ। यात्रुहरूले सो पुलमा जोखिम मोलेर यात्रा गर्नु परेको छ। 

२०१६ सालमा भारत र नेपालबीच गण्डक सम्झौता भएपछि गण्डक नहर बनाउन करिब १० वर्ष लागेको थियो। यो पुल निर्माण भएको ५० वर्षभन्दा बढी समय भइसक्दासमेत पुल निर्माणका लागि सम्बन्धित निकायले चासो देखाएको छैन। प्रतापपुर गाउँपालिकाका इन्जिनियर आनन्द यादवले ५० वर्षभन्दा पहिला निर्माण गरिएको पुलको दुवैतर्फका बारहरू भत्किएकाले जोखिम बढेको बताउनुभयो। 

मर्मतसम्भारका लागि सम्बन्धित मन्त्रालयमा पत्राचार गर्दासमेत सुनुवाइ नभएको गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिका अध्यक्ष दूधनाथ गुप्ताले बताउनुभयो। नवलपरासीको त्रिवेणीबाट निस्किएर रानीनगर, महलवारी, प्रतापपुर, गुठी सूर्यपुरा, गुठीप्रसौनी, ठूलो खैरेटहवा, बैदौली हुँदै नेपालको १९ किलोमिटरको भूभाग पार गरी भारत पुग्ने गर्छ।  गण्डक नहरले नवलपरासीको पूर्वी–दक्षिणी क्षेत्रमा रहेको प्रतापपुर र सु्स्तागाउँ पालिकालाई विभाजित गरेको छ। कुनै कारणवश यो पुल भाँचिएको खण्डमा प्रतापपुर र सुस्ता गाउँपालिकाको सम्बन्धविच्छेद गर्ने छ। 

नेपाल सरकारले भारतीय सरकारसँग कूटनीतिक पहल गरी पुल मर्मत गर्न लगाउनुपर्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले बताउनुभयो। भारतीय पश्चिम गण्डक नहरमाथि रानीनगर, कुडिया, महलवारी, बेलाटारी, सूर्यपुरा, बैदौली, झुलनीपुरलगायतका स्थानमा साना–ठूला गरी आठ स्थानमा पुल रहेका छन्। 

सबै पुलहरू अहिले जीर्ण अवस्थामा रहेका छन्। गण्डक नहरमाथि बनाइएका सबै पुलमा एकोहोरो मात्र गाडी हिँड्न मिल्ने गरी बनेकाले यात्रा जोखिमपूर्ण रहेको छ। नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार गण्डक नहर र त्यससँग सम्बन्धित क्षेत्रका सम्पूर्ण भौतिक निर्माण, मर्मत र रेखदेखको जिम्मा भारत सरकारले लिएको छ।