• २३ असार २०८१, आइतबार

पक्की घर पाएपछि विपन्न परिवारमा खुसी

blog

तनहुँ समाचारदाता

तनहुँ, माघ १९ गते ।  घर नहुँदा झुप्रोमा कष्टपूर्ण जीवन निर्वाह गरिरहनुभएका बन्दीपुर गाउँपालिका–४, विमलनगर निवासी सूर्यबहादुर नेपाली पक्की घर पाएपछि खुसी हुनुभएको छ । 

सोही ठाउँ निवासी समाजसेवी सीता थापाको सक्रियतामा घर निर्माण गरी नेपालीलाई हस्तान्तर गरिएको हो । सीताको नेतृत्वमा विभिन्न व्यक्तिबाट सहयोग जुटाएर दुईकोठे पक्की घर बनाइएको छ । विभिन्न समूह र व्यक्तिबाट एक लाख २३ हजार रुपियाँ नगद सङ्कलन गरी सिमेन्ट, ढुङ्गा, बालुवा, जस्तापाता खरिद गरी बाँकी स्थानीयवासीबाट श्रमदान गरी सो घर निर्माण गरिएको हो ।

घर नहुँदा नेपालीलाई परेको समस्याका बारेमा जानकारी गराएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले ४८ हजार रुपियाँ सहयोग गर्नुभएको थियो । 

आर्थिक रूपमा विपन्न नेपाली झुप्रोमा बास बस्नु पर्दा हावाहुरी आउँदा, पानी पर्दा समस्या हुने र राति जङ्गली जनावरको आक्रमणमा पर्ने डर देखेर घर निर्माण गरेको समाजसेवी सीताले बताउनुभयो ।

पक्की घर निर्माण भएपछि अत्यन्त खुसी लागेको नेपालीले बताउनुभयो । झुप्रोमा जोखिम अवस्थामा बस्नु नपर्ने भएकोले धेरै खुसी लागेको छ, सीतालगातय सहयोग गर्नेलाई धेरैधेरै धन्यवाद, नेपालीले भन्नुभयो । नवनिर्मित घर कांग्रेसका वरिष्ठ नेता पौडेलले हालै नेपालीलाई हस्तान्तरण गर्नुभयो । सबै ठाउँमा यस्तै तरिकाबाट सामाजिक सक्रियता देखाउने हो भने घरविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ ।