• २६ वैशाख २०८१, बुधबार

धर्म रक्षाको फल

blog

धर्मशास्त्रमा एउटा भनाइ छ– ‘धर्मो रक्षति रक्षितः ।’ यसको अर्थ जसले जुन धर्मको रक्षा गरेको हुन्छ उसलाई सोही धर्मले रक्षा गर्छ भन्ने हो । धर्म भनेको स्वभाव हो । जहाँ दया, माया, मैत्री, करुणा, शान्ति, सद्भाव, परहित परोपकार आदि कर्म हुन्छन् त्यहाँ स्वतः धर्म भइरहेको हुन्छ । धर्मशास्त्रले ‘धर्मोे रक्षति रक्षितः’ भनेको पनि यसैलाई हो । जसले यस्ता धर्म निर्वाह गरेका हुन्छन् उनीहरूको हित र कल्याण तिनै कर्मबाट भइरहेका हुन्छन् । भाइबहिनीका जानकारीका लागि यहाँ यस्तै अद्भुत कथा प्रस्तुत गरिएको छ, जसलाई पढेपछि तिमीहरू आफैँ प्रस्ट हुनेछौ । 

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार परापूर्व कालमा सूर्य वंशमा मरुत्त नामका राजा थिए । उनका बाबुको नाम अवीक्षित थियो, बाजेको नाम करन्धम । राजपरम्पराअनुसार बाबुपछि छोरा राजा हुनुपर्ने भए पनि बाबु अवीक्षितले राज्यसत्ता सञ्चालन गर्न अनिच्छा देखाएकाले बाजे करन्धमको आदेशानुसार मरुत्तले राजासत्ता समालेका थिए । उनी धार्मिक प्रकृतिका राजा थिए । उनका निम्ति आफ्नो र पराइ भन्ने नै थिएन । राज्यमा शान्ति थियो, सद्भाव थियो । सबै सुखी र समृद्ध थिए । 

समय बित्दै गयो, उनको राज्यप्रशान पनि चली नै रह्यो । त्यत्तिकैमा एक दिन और्व नामक कुनै एक ऋषिका आश्रममा आएका पातालवासी नागहरूले उनका १० जना शिष्यलाई सानो वादविवादकै कारण डसेर मारे । आफ्ना निर्दोष शिष्यहरू मारेको देखेर ऋषि और्व रिसाए । उनमा तपोबलद्वारा तत्कालै नागहरूलाई भस्म पार्न सक्ने तागत थियो तर त्यो हदसम्म भने गएनन् ।

 रिसलाई मनमनै पचाएर अतिथि धर्म पालन गरे । विस्तारै यो खबर राजा मरुत्तको कानसम्म पुग्यो । उनले निर्दोष ऋषिकुमारलाई मारेको सहन सकेनन् र नागलोक नै ध्वस्त पार्छु भन्दै संवर्तक नामक अस्त्र उठाए, जसका कारण नागलोक एक–एक गरी जल्न लागे । केही नाग त्यहीँ जलेर भस्म भए केही नाग भागेर मरुत्तका बाबु अवीक्षितको शरणमा पुगे । 

शरणमा आएकालाई बचाउनु अवीक्षितको धर्म थियो । त्यसैले छोरा मरुत्तसमक्ष गएर उनले प्रयोग गरेका अस्त्र फिर्ता लिन आग्रह गरे तर मरुत्तले प्रजाजनको रक्षा गर्नु आफ्नो धर्म हो भन्दै फिर्ता लिन मानेनन् । यसै निहुँमा पितापुत्रबीच झगडा प-यो । विस्तारै झगडा बढ्दै गएर युद्धको रूप लियो ।

दुवैले आत्मरक्षाका लागि हतियार उठाए । युद्ध लामो समयसम्म चल्यो । केही ऋषिहरू युद्ध विरामका निम्ति उनीहरूसमक्ष गए, अनुरोध गरे ।  युद्ध विराम गरी तुरुन्तै शान्तिको मार्गमा ल्याउन धेरै कोसिस गरे ।

ऋषिहरूको कुरा सुनेर उनीहरूले भने– ऋषिवर ! धर्मको रक्षा गर्नु नै सबैभन्दा ठूलो धर्म हो । प्राणै दिन परे पनि पछि पर्नुहुन्न भनेर शिक्षा दिने तपाईंहरू नै हो । उनीहरूका भनाइ आफैँमा गलत थिएन । धर्म रक्षाखातिर प्राणै दिन पनि तत्पर हुनुपर्छ भन्ने ऋषिहरू नै हुन् । 

गीतामा कृष्णले पनि ‘स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः’ भनेर यस्तै कुरा गरेका छन् । त्यसैले ऋषिहरूले मध्यमाग निकाल्दै भने–‘कुरा तपाईंहरू दुवैको ठीकै हो । तपार्ईंहरू धर्म रक्षाका लागि लड्दै हुनुहुन्छ यसमा हाम्रो भन्नु केही छैन । हामी त यति मात्र चाहन्छौँ युद्धको सट्टा शान्तिबाटै धर्म रक्षा हुन्छ भने किन त्यता ध्यान नदिने ? त्यसैले तपार्ईंहरूले पनि अहिले नै हतियार बिसाउनुपर्छ भने नागहरूले पनि मरेका ऋषिकुमारलाई बचाइदिनुपर्छ । यसो गर्दा युद्ध पनि रोकिन्छ र दुवै पक्षको धर्म निर्वाह हुन्छ ।’ 

ऋषिहरूका कुरालाई दुवै पक्षले स्वीकारे । नागहरूले तत्कालै आफ्ना विष फिर्ता लिएर मृतसञ्जीवनी बुटीद्वारा मरेका ऋषिकुमारलाई बचाए । उनीहरूले पनि आ–आफ्नो हतियार फिर्ता लिए । त्यसपछि बाबु अवीक्षितले काखमा लिएर आशीर्वाद दिए । 

यसरी आ–आफ्नो धर्म रक्षा गर्दा त्यही धर्मले नै उनीहरूको रक्षा हुन पुग्यो । यस व्यास कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर जसले आफ्नो धर्म छाड्दैन र अन्तिम सासतक त्यसैको रक्षामा लागेको हुन्छ उसको रक्षा त्यसैले गर्ने कुरा भने सत्य हो ।