ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), माघ १८ गते । अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ्की १६ वर्षीया सोनिया थजाली स्थानीय प्रभा माध्यमिक विद्यालयमा कक्षा १० मा इलेक्ट्रिकल इन्जिनियर पढ्दै हुनुहुन्छ। गाउँमै प्राविधिक विषयको अध्ययन गर्न पाउँदा उहाँ निकै खुसी हुनुहुन्छ। इलेक्ट्रिकल इन्जिनियरको पढाइ सकाएर गाउँकै जलविद्युत् आयोजनामा काम गर्ने सपना थजालीले बुन्नुभएको छ।
साधारणतर्फको ८ कक्षा पास गरेपछि थजाली ९ कक्षाबाट इलेक्ट्रिकल इन्जिनियर पढ्न थाल्नुभएको हो। घरबाटै आँटोपिठो खाएर निःशुल्क रूपमा प्राविधिक विषय पढ्न पाउनु ठूलो अवसर भएको उहाँ बताउनुहुन्छ। पर्वतको जलजला गाउँपालिका३ की अद्धिती गुरुङ पनि ८ कक्षा पास गरेर प्राविधिक शिक्षा अध्ययन गर्न प्रभा माविमा आउनुभयो। गुरुङ अहिले कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ।
आगामी वैशाखको परीक्षा सक्काएपछि सब–इन्जिनियर बन्नुहुन्छ। “मैले बेनीको एक विद्यालयमा साधारणतर्फको शिक्षा लिइरहेको थिएँ,” गुरुङले भन्नुभयो “प्राविधिक शिक्षा मेरो सानैदेखिको रुचिको विषय थियो त्यही भएर उता छाडेर इलेक्ट्रिकल इन्जिनियर पढ्न थालेको छु। भोलि इन्जिनियर बनेर देशको सेवा गर्ने चाहना छ।” नारच्याङलाई ‘हाइड्रो भिलेज’का रूपमा चिनिन्छ। गाउँमा निर्माण हुने जलविद्युत् आयोजनालाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रभा माविले तीन वर्षअघि प्राविधिक धारतर्फको चार वर्षे कोर्समा इलेक्ट्रिकल इन्जिनियरको पढाइ सञ्चालन गरेको थियो।
पोखरामा ८ कक्षा पास गरेर अन्नपूर्ण गाउँपालिका–६, घारका नवराज बरुवालले पनि प्राविधिक शिक्षा पढ्न थाल्नुभएको छ। बरुवाल अहिले कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ। आफ्नै गाउँठाउँमा प्राविधिक शिक्षाको पढाइ खुलेपछि पोखराको पढाइलाई बिट मार्दै यहाँ पढ्न आएको हुँ बरुवालले भन्नुभयो, “प्राविधिक शिक्षा आजको आवश्यकता हो। सीपमूलक शिक्षा आर्जन गरेर बेरोजगार भएर बस्नु पर्दैन। १२ कक्षासम्म आउँदा मैले धेरै व्यावहारिक सीप सिकेको छु। भोलि रोजगारी नपाए पनि यो शिक्षाले आफैँ स्वरोजगार बन्नसक्ने क्षमताको विकास गराउनेमा ढुक्क छु।”
पठनपाठन गराइने विद्यालयको शिक्षक इन्जिनियर सुरज आचार्यले बताउनुभयो। “१२ कक्षा पास गरेपछि सब–इन्जिनियर तहको दक्ष जनशक्ति तयार हुन्छन्,” उहाँले भन्नुभयो, “नारच्याङ हाइड्रोभिलेज गाउँ हो। यहाँ निर्माण हुने जलविद्युत् आयोजनामा दक्ष जनशक्तिको खाँचो छ। इलेक्ट्रिकल इन्जिनियरको पठनपाठन यहाँको आवश्यकता हो। कक्षा १२ पास गरेपछि निर्माणाधीन जलविद्युत् आयोजनामा रोजगारीको अवसर छ।’’
इलेक्ट्रिकल इन्जिनियरिङले विद्युत् उत्पादनदेखि उपभोक्ताको घरघरमा विद्युत् प्रवाह गर्न सिकाउँछ। विद्युत् उत्पादनका लागि चाहिने उपकरण निर्माणबारे पनि इलेक्ट्रिकल इन्जिनियरिङमा पढाइने उहाँले बताउनुभयो। कक्षा १२ पास गरिसकेका विद्यार्थी बेरोजगार भएर बस्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ। रोजगारी नपाए पनि घर वाइरिङ, विद्युतीय उपकरणको मर्मतसम्भारलगायतका कामह गरेर पनि स्वरोजगार बन्न सक्ने उहाँले बताउनुभयो।
एक गाउँपालिका एक प्राविधिक शिक्षाको सरकारी नीतिअनुसार २०७६ सालबाट प्रभा माविमा प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इन्जिनियरको पढाइ सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो। उहाँका अनुसार विद्यालयमा कक्षा ९ देखि १२ सम्म ८० जना विद्यार्थी अध्ययनरत छन्।
यहाँ तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएका छन् भने छवटा जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा भएकाले प्राविधिक जनशक्ति तयार भएपछि रोजगारीको अवसर हुने उहाँले बताउनुभयो। विद्यालयमा भौतिक पूर्वाधार र दक्ष जनशक्ति पर्याप्त भए पनि अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले विद्यार्थी जुटाउन चुनौती भएको गुरुङले बताउनुभयो। अनुभवी दक्ष शिक्षक, व्यवस्थित प्रयोगशाला, सुविधायुक्त विज्ञान तथा कम्प्युटर प्रयोगशाला र छात्राबासको सुविधा रहेको विद्यालयका प्रधानाध्यापक अनमोल केसीले बताउनुभयो। टाढा देखि आएका विद्यार्थीलाई सुलभ दरमा छात्राबासको व्यवस्था गरिएको उहाँले बताउनुभयो।