• १३ साउन २०८१, आइतबार

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड

blog

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बसेको बैठकमा सचिवहरुलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, माघ १७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु। विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाईं हामी सबैसँग छ। यसपटक हामीले उक्त गल्ती दोहोर्‍याउनु हुँदैन। विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु।’’

यसपटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको उहाँको भनाइ छ।  प्रधानमन्त्रीले भन्नुभयो, ‘‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अंगको एकीकृत परिचालनको नेतृत्व गर्नु हो। राज्यका सबै अंगलाई जवाफदेही र उत्तरदायी बनाउनु पनि हो, दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित गर्नु हो।’’ 

आफ्नो कुरा निर्धक्कसाथ राख्न सक्ने उहाँको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले  नयाँ अठोटका साथ आफू काम गर्न बताउनुभयो। ‘‘सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्ने अठोटका साथ आएको छु। सदनमा मलाई प्राप्त विश्वासको मत पनि त्यही जिम्मेवारीका साथ आएको छ। त्यसलाई मैले गम्भीर रूपमा लिएको छु’’, उहाँले भन्नुभयो।



राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत

सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गरिने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘मेरो प्रधानमन्त्रीत्व कालमा कार्यालयअन्तर्गत रहनुभएका कर्मचारीको ऊर्जा र सम्मानलाई जोड दिनेछु। तपाईंहरूले आफ्नो भूमिका गम्भीरपूर्वक खेल्नुस्। मैले पनि अभिभावकीय भूमिका खेल्छु। तपाईंहरुले सक्रियतापूर्वक भूमिका खेलेमा राम्रो परिणाम आउँछ। राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ। तपाईंहरू सबै पुरस्कृत हुन प्रतिस्पर्धा गर्नुस्।’’

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले निर्णय प्रक्रियामा सरलीकरण गरेर छिटो छरितो कार्यसम्पादन गर्न निर्देशनसमेत दिनुभयो। 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मैले सचिवहरूलाई दिएको निर्देशनमा धेरै कुरा भनिसकेको छु। त्यसलाई तपाईंहरूले गम्भीरतापूर्वक लिनुभएको होला भन्ने विश्वास लिएको छु। मन्त्रिपरिषदले पूर्णता पाएको छ। तसर्थ, हिजो बनेको कार्ययोजनामाथि सामूहिक छलफल गर्नुछ। अब मन्त्री र सचिवसमेत राखेर फेरि छलफल गर्नुपर्ने आवश्यकता महसुश भएको छ।’’

संसदमा विश्वासको मत लिँदा राखेका विषय, सचिवलाई दिएको निर्देशन र नीतिगत प्राथमिकतासमेत राखेर कार्ययोजना बनाउनु आवश्यक भएको उहाँको भनाइ छ। 

प्रशासनमा उच्चस्तरीय सुधार आवश्यक 

बैठकमा प्रधानमन्त्री प्रचण्डले देशमा उच्चस्तरीय प्रशासन सुधार आवश्यक भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘उच्चस्तरीय प्रशासन सुधार कार्यदल बनाउने कुरामा मेरो ध्यान गएको छ। अनावश्यक कार्यालय हटाउने, दोहोरो कार्यबोझ हटाउने, अनावश्यक कर्मचारी र खर्च घटाएर प्रशासनयन्त्र र सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक छ।’’ 

प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा कसरी गर्ने, एकीकृत डेटा प्रणाली कसरी व्यवस्थित गर्ने, सूचना प्रणालीलाई कसरी एकीकृत र प्रभावकारी बनाउने भन्नेमा विषयमा सरकार लागि परेको बताउनुभएको छ। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सर्भर डाउन भएको घटनाबाट पनि हामीले शिक्षा लिन सक्नुपर्छ। त्यसका लागि नीतिगत र व्यवस्थापकी क्षेत्रमा सुधार आवश्यक छ। त्यसका लागि नियमित बैठक र छलफल गर्नुपर्छ। बैठक र छलफल भएपछि मात्र समस्या कहाँ छ, समाधान कसरी गर्ने भन्ने थाहा हुन्छ। त्यसका लागि हामी सबै गम्भीर बनौँ।’’

देश अहिले पनि अप्ठेरो अवस्थामै भएको भन्दै प्रधानमन्त्री प्रचण्डले गम्भीर रुपमा काम नगरे राष्ट्रको आवश्यकता सम्बोधन गर्न नसकिने बताउनुभयो। अहिले काम गर्ने ठूलो अवसर भएको उहाँले प्रष्ट पार्नुभयो। 

बैठकमा बोल्दै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले प्रधानमन्त्रीको सक्रियताले आफूहरूमा काम गर्ने ऊर्जा प्राप्त भएको बताउनुभयो। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका १२ वटा निकाय तथा कार्यालयका प्रमुखले आ–आफ्नो निकाय र कार्यालयको कार्यादेश, नीतिगत र संरचनागत स्थिति, प्राप्त उपलब्धि, सीमा, समस्या र सरकारसँग गरिएको अपेक्षाबारे संक्षेपमा बिफ्रिङ गर्नुभएको थियो।