गाेरखापत्र अनलाइन
काठमाडाैँ, माघ १७ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधि बिक्री भइरहेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साे धारणा राख्नुभएकाे हाे । उहाँले बजारमा आउनु भन्दाअघि विभिन्न प्रकारका औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले बजारमा अहिले धेरै प्रकारका विज्ञापनको आफूखुशी प्रयोग हुने र औषधि पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी रहेकाे कुरामा जाेड दिनुभयाे। उहाँले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै सम्झौता गर्नु नहुने बताउनुभयो ।
उहाँले देश भित्रै औषधिको उत्पादन हुने प्रवल सम्भावना रहेकाले त्यस सम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गर्नुभयो ।
राज्यमन्त्री कार्कीले भन्नुभयो, ‘हामीले देशभित्रै औषधिहरु उत्पादन गर्नसक्छौँ, त्यससम्बन्धी पनि खोज अनुसन्धान अघि बढाउनुपर्छ । अनलाइन एप्स, मार्केटमा सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचारबाजी हुने र जथाभावी लिने काम भइरहेको छ, त्यसलाई नियमन गर्न के गर्नुपर्छ ? के गर्न सकिन्छ ? उत्पादित औषधि डिडिएमार्फत अनुमति लिएको छ कि छैन ? त्यसका लागि एउटा प्रावधान बनाउन जरुरी छ । कोभिड महामारीपछि व्यापक भइरहेको छ । अबका दिनमा अनलाइन सपिङ झनै भद्रगोल हुने अवस्था छ ।’
सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्ने कुरा अत्याधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुनसक्ने भन्दै सचेत हुन जरूरी रहेकाे राज्यमन्त्री कार्कीले बताउनुभयो ।