• १३ साउन २०८१, आइतबार

सवारी धनी र नक्कली चालक पक्राउ

blog

पक्राउ परेका नक्कली चालक र सवारी धनी । तस्बिर – रेखीराम राना

रेखीराम राना

पाल्पा, माघ १७ गते । प्रहरीको आँखा छल्न नक्कली सवारी चालक खडा गर्ने व्यक्ति र नक्कली चालकलाई पक्राउ गरिएको छ । गत २०७९ पुस २४ गते जिल्लाको रम्भा गाउँपालिका–३, निकीचउरमा भएको ट्याक्टर दुर्घटना काण्डमा नक्कली चालक खडा गर्ने व्यक्ति र नक्कली चालकलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नक्कली चालक रामपुर–१० का भन्सार कुमाल र सवारी धनी रम्भा–१, का ४१ वर्षीय डिल्लीराम अर्याल रहेका छन् । गत पुस २४ गते लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । 

सोही घटनालाई ढाकछोप गर्न सवारी धनी अर्यालले एक लाख रुपियाँ दिने गरी नक्कली चालक खडा गरेका थिए । प्रहरी अनुसन्धानको क्रममा एक लाख रुपियाँको प्रलोभनमा परी नक्कली चालक बनेका कुमाल र नक्कली चालक खडा गर्ने डिल्लीराम अर्याललाई पक्राउ गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

‘नक्कली चालक बनाउन सुरुमै २५ हजार रुपियाँ कुमाललाई दिएको देखियो ।’ पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले भन्नुभयो ।

प्रहरीलाई कतै झुक्क्याउन सकिन्छ कि भन्ने तवरबाट काम भएको प्रहरीको बुझाइ छ । यस्तै, प्रहरीले ट्याक्टर दुर्घटना गराउने रम्भा–१, का १९ वर्षीय विवेक थापा भन्ने थम्मनबहादुर थापालाई समेत पक्राउ गरेको छ ।