• ११ वैशाख २०८१, मङ्गलबार

श्रीमान्

blog

मैले जिन्दगीमा कयौँ पटक सम्झौता तोडेकी छु

सम्झौता तोडेको अभियोग लगायोस् । 


समयसँगै चल्न नसकेर रहरहरूको

हत्या गरेकी छु,

हत्यारा आरोप पुष्टि गरियोस् । 


खुसी किन्ने बहानामा 

कयौँ पटक हाँसो बेचेकी छु,

कर छलीको आरोप लगाइयोस् 

कसैलाई खुसी बनाउन 

आफ्नो खुसी लिलाम गरेकी छु,

धरौटीमा राखेको खुसी फिर्ता लिन नसकेकोमा 

देवानीसंहिता पल्टाएर हेरियोस् 

जिन्दगी बचाउन 

मैले मेरा सपनाहरूको महल भत्काएकी छु । 

श्रीमान्, मेरा कसुरमा

कुन कानुन आकर्षित हुने हुन्

म आफ्नै सपनाहरूको दोषी हुँ,

मलाई कानुनबमोजिम सजाय तोकियोस्

र,

मेरै मनको कारागारमा कैद तोकियोस् ।