• ६ वैशाख २०८१, बिहिबार

पहिचान झल्किने गरी प्रदेशको नामकरण हुन्छ : मुख्यमन्त्री कार्की

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ १६ गते । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैको पहिचान झल्कने किसिमको प्रदेशको नामकरण गरिने बताउनुभएको छ । पहिचानसहितको प्रदेश नामकरण चाँडो टुङ्गो लाग्ने उहाँको भनाइ छ । 

आइतबार बेलुकी झापाको दमकमा भएको दमक जेसिजको पदस्थापन कार्यक्रममा  मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको प्राथमिकता नामकरण भएको पनि बताउनुभयो । हामी चाँडो नामकरणको विषयमा टुङ्गोमा पुग्छौँ, उहाँले भन्नुभयो । सबैको पहिचान झल्कने नामकरण हुन्छ, उहाँले भन्नुभयो ।

प्रदेश सभा सदस्यको दुई तिहाइले प्रदेशको नामकरण गर्न सक्ने संवैधानिक व्यवस्था रहेको जनाउँदै कार्कीले सकेसम्म सबैको सहमतिमा अघि बढ्ने बताउनुभयो । सर्वसम्मत नभए प्रक्रियामा गएर भए पनि नामकरणको विषय टुङ्ग्याउन प्रयासरत रहेका छौँ, कार्कीले भन्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको विषयमा भएका टीकाटिप्पणीलाई गम्भीर रूपमा लिएको बताउनुभयो । कार्कीले प्रदेश एवं देश विकासका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने जनाउँदै युवालाई सही मार्गमा हिँडाउन र विधिको शासन स्थापना गर्न जेसिजको भूमिका महत्त्वपूर्ण हुने आफूले बुझेको बताउनुभयो । युवाहरूलाई कुलतमा जानबाट रोक्न र कुलतमा गएकालाई सही मार्गमा ल्याउन अभियान चलाउनेलाई प्रदेश सरकारको सहयोग रहने उहाँले बताउनुभयो । 

कार्यक्रममा प्रदेश सभा सदस्य होमबहादुर थापा, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकुल श्रेष्ठलगायतले युवामा निराशा पैदा हुन नदिन सबैले आफ्नो ठाउँबाट सकेको काम गर्नुपर्नेमा जोड दिनुभयो ।