• ११ पुस २०८१, बिहिबार

‘सबैले मिलेर सांस्कृतिक जरालाई जोगाउनुपर्छ’

blog

केजिन राई 

बेल्जियम (काजब्लांका क्यासेल्लो), माघ १६ गते । तामाङ समाज बेल्जियमद्वारा आयोजित २८५९ सोनाम ल्होछार कार्यक्रम बेल्जियमस्थित क्यासेल्लो सहरमा सम्पन्न भयो । बुद्ध धर्मका गुरुहरूको विशेष उपस्थिति र प्रवचनसहित उक्त कार्यक्रम सम्पन्न भएको हो । बेल्जियमको ब्रुज, ब्रसेल्स, एन्टरपेन, हेरेन्ट र लुभेन सहरका तामाङ समुदाय तथा अन्य नेपाली एकै ठाउँमा भेला भएर सामूहिक रूपमा सोनाम ल्होछार  मनाइएको छ । 

बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि राजभण्डारीले हाम्रा सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो । 


राजदूतले सांसारिक मोहभन्दा पनि सबैले मिलेर सांस्कृतिक जरालाई जोगाउन सक्नुपर्छ भन्नुभयो । 

तामाङ समुदाय तीसौ हजार वर्षबाट नेपालमा बसोबास रहेको कुरा उल्लेख गर्दै नेपालमा उनीहरूको पुरानो इतिहासको चर्चा गर्नुभयो । 

एनआरएन बेल्जियमका अध्यक्ष खड्गबहादुर केसीले ल्होछार कार्यक्रममा तामाङ समुदायको संस्कृतिलाई संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाउन पनि सकिने भनेर आयोजकलाई धन्यवादसहित शुभकामना दिनुभयो । 

कार्यक्रममा खेम्पो तामाङ रिम्पोछे धर्मगुरु र आयोजक समितिका अध्यक्ष राम लामाले यस पटक विगतमा भन्दा अलिक फरक ढङ्गबाट कार्यक्रम गरिएको बताउनुभयो । 

अध्यक्ष लामाले मनोरञ्जन मात्र दिलाउने होइन ज्ञान दिलाउने हेतुले  धर्म, संस्कार, संस्कृतिको संरक्षण, संवर्द्धन र जगेर्ना गर्ने, गुरुहरूबाट ज्ञान प्राप्त गर्ने हेतुले यस पटक यस्तो किसिमको कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । 

समाजका अध्यक्ष राम लामा, राजदूत र धर्म गुरु खेम्पो तामाङ रेम्पोछेले सामूहिकरूपमा द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । 

मौलिक, परम्परागत भेषभूषा र गरगहनामा सजिएर तामाङ समुदायका सदस्यहरूले कार्यक्रममा विशेषगरी धादिङ र नुवाकोटमा नाचिने नृत्य मेन्दोमाया, मानेदोरा भाकामा नाचेका थिए । 

डम्फु तामाङ समुदायमा लोकप्रिय, प्रमुख बाजाको रूपमा प्रयोग किन गरिन्छ भनेर कार्यक्रम सञ्चालनको क्रममा लालिङ तामाङले प्रष्ट पार्नुभयो ।