• १३ वैशाख २०८१, बिहिबार

नहरपुर जोड्ने सडक निर्माणको काम शुरु

blog

छविलाल पाण्डे 

बुटवल, माघ १६ गते । बुटवलको बुद्धनगरदेखि नहरपुर जोड्ने सडक निर्माणको काम शुरु भएको छ । बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुङ्गे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने कामको सोमबार शिलान्यास भएको हो । 

बुद्धनगरमा एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले सडकको शिलान्यास गर्नुभयो । सडकको शिलान्यास गर्दै प्रमुख पाण्डेयले बुद्धनगरदेखि नहरपुरसम्मको सडक विस्तारका क्रममा स्थानीयलाई साथमा लिएर काम अघि बढाउने बताउनुभयो । 

उहाँले स्थानीयलाई लाभ हुने र पूर्व–पश्चिम राजमार्गको तिनाउ पुल निर्माणको काम शुरु भएपछि वैकल्पिक सडकका रुपमा प्रयोग हुनेगरी सडक विस्तार गर्न लागिएको बताउनुभयो । स्थानीयको आवश्यकता र मागअनुसार सडक विस्तारको काम अघि बढाउने बताउँदै निर्माण व्यवसायीलाई साथ दिन उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले समयमै काम सम्पन्न गर्न स्थानीयले साथ दिनुपर्ने र नियमित रुपमा अनुगमन गर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवल उपमहानगरपालिकाका भित्री सडकको स्तरोन्नति र निर्माणको काम शुरु भएको र यसले निरन्तरता पाउने बताउनुभयो ।

वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले स्थानीयको आवश्यकता र मागलाई सम्बोधन गर्दै सडक निर्माण शुरु भएको र स्थानीयले निर्माणमा साथ दिनुपर्ने बताउनुभयो । दुई करोड ६० लाख ६५ हजार लागतमा ठेक्का सम्झौता भएको सडक आगामी जेठ १५ भित्र सम्पन्न गर्नेगरी थापा दास जेभी बुटवलले ठेक्का पाएको छ ।