• १३ वैशाख २०८१, बिहिबार

पशुपति प्रसाद-२ 'भष्मे डन' निर्माण हुने

blog

काठमाडौं, माघ १६ गते । चलचित्र पशुपति प्रसाद-२ 'भष्मे डन' निर्माण हुने भएको छ । पशुपति प्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो । 

चलचित्र निर्माण टिमले यो चलचित्र पशुपतिप्रसादको दोस्रो सिक्वेल नभएको बताउनुभएको छ । चलचित्र पशुपति प्रसादको प्रमुखमध्ये एक पात्र 'भष्मे डन'को चरित्रमाथि बनाइने निर्माण टिमले जानकारी दिएको हाे । 

चलचित्रमा पशुपति प्रसादकी अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेको अभिनय रहने छैन । तर अभिनेता लामिछाने भने चलचित्रको लेखक र निर्माताको रुपमा रहनुहुनेछ । 

कार्यक्रममा बोल्नुहुँदै अभिनेता रविन्द्र सिंह बानियाँले पशुपतिप्रसादको मायालाई कुनै कमी हुन नदिनेगरी फिल्म बन्न लागेको बताउनुभयो । 

अभिनेत्री वर्षा शिवाकोटीले पशुपतिप्रसाद चलचित्र आफ्नो लागि महत्वपूर्ण भएको बताउनुभयो । साथै, चलचित्र निर्देशक दीपेन्द्र के खनालले पशुपतिप्रसाद बनाउँदा धेरै विश्वास र कथावस्तु राम्रो भएपछि मात्रै बनाएको जनकारि दिनुभयो । कार्यक्रममा अभिनेता खगेन्द्र लामिछानेले पशुपतिप्रसादको सिक्वेल बनाउन लामो समयदेखि कुरा भएपनि अर्थपूर्ण बनाउने कुरामा नै अहिलेसम्मको समय कुरेको बताउनुभयो । 

त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्काले पशुपतिप्रसालाई अहिलेसम्म पनि धेरैले मन पराएकोमा खुशी व्यक्त गर्नुभयो । चर्चित फिल्ममा आफूले सहकार्य गर्न पाउँदा खुशी लागेको र आफूलाई फिल्ममा समयको भन्दा पनि पात्रको भुमिका कति महत्वपूर्ण छ भन्नेकुराले आफूलाई महत्व राख्ने बताउनुभयो ।

चलचित्रमा विपिन कार्कीको पनि मुख्य भुमिका रहनेछ । टुकी आर्टस्को ब्यानरमा निर्माण हुने यो चलचित्रमा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहने बताइएको छ । 

चलचित्रको डिओपीमा निरज कँडेल, छायाँंकार कृष्ण थापा, सम्पादक दीर्घ खड्का रहेका छन् । चलचित्रमा कृष्ण भारद्वाज र सुवास भुसालले संगीत दिनुहुनेछन् । चलचित्र आगामी वर्षको २०८० को फूलपातीमा प्रदर्शनमा आउनेछ ।