• ६ कात्तिक २०८१, मङ्गलबार

म हराएको दिन

blog

मदेखि म हराएको दिन

मैले म जस्तै म गुमाएको दिन

न ऊ ऊजस्तै रहन सक्यो न म मजस्तै रहेँ

ऊ र म मिलेर बनेको सम्बन्धको लहरा 

पहराबाट छुटेको दिन


तिमीले तिमी र म मिलेपछि राम्रो ‘म’ बन्छ भनेका थियौ

र, राम्रोबाट मात्रै राम्रै संसार बन्छ पनि

भनेका थियौ

तर हेर त बदलामा आज

आकाश जस्तै आँखा चुहिरहेको छ

धर्ती जस्तै मथिङ्गल काँपिरहेको छ

मबाट राम्रो चाहिँ छुटेर आधा–आधा म 

मात्रै बाँकी रहेको दिन


थाहा छैन तिमी यस समय 

कुन दुनियाँमा भुलेका छौ

म भने हेर उहीँ संसारमा रुमल्लिएर

फगत भ्यागुताले जस्तै उचाइ नापिरहेछु

र यही धरातलबाट चिहाइरहेछु एक्लो 

बृहस्पति जस्तै

तिमीलाई पाएर गुमाएपछिको दिन ।।