• ६ कात्तिक २०८१, मङ्गलबार

अब महिलाबीच नै प्रतिस्पर्धा गर्ने वातावरण मिलाउनुपर्छ : डा. आरजु

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवा । तस्बिर : कविता थापा

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १५ गते । ललितपुर महानगरपालिकाका विभिन्न वडाका महिला सदस्यहरूले सर्वसाधारणको अपेक्षा र आफ्नो जिम्मेवारी पूरा गर्न वडामा बजेट र काम गर्ने वातावरण पनि तयार पार्नुपर्नेमा जोड दिएका छन् । लैङ्गिक हिंसाबाट प्रभावित बालबालिका तथा महिलाका लागि पुनः स्थापना गृह सञ्चालन गर्ने साथी संस्थाद्वारा आइतबार राजधानीमा स्थानीय तहमा महिला वडा सदस्यहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चित गर्न आयोजित दुई दिने गोष्ठीमा महिला वडा सदस्यहरूले बजेट र काम गर्ने वातावरण हुनुपर्ने बताएका हुन् । 

प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपाली महिलालाई राजनीतिमा आउन र निर्वाचनमा टिकट पाउन, विजयी हुन थुप्रै कारणले अवरोध गरे पनि प्रयास गर्ने महिला राजनीतिज्ञलाई सकारात्मक सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले यस पटक दलबीचको गठबन्धनको कारणले महिलाको राजनीतिक सहभागितामा आएको सङ्कुचन आगामी दिनमा नदोहोराउन नीतिगतरूपमै व्यवस्था गर्न आग्रह गर्नुभयो । 

नेत्री राणाले महिलाले समानुपातिकको बाटो रोजेर राजनीतिमा आएको आरोप लगाउने र प्रत्यक्ष निर्वाचनमार्फत राजनीतिमा सहभागिता जनाउन टिकट नै नदिने, दलबीच सधैँ गठबन्धन गरिरहने अवस्थाको अन्त्यका लागि अब महिलाबीच नै प्रतिस्पर्धा गर्ने वातावरण पनि मिलाउनुपर्नेमा जोड दिनुभयो । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफूले पञ्चायत कालदेखि नै राजनीति गरेको अनुभवमा महिलाले राजनीतिमा जमेर काम गर्न अझै पनि चुनौतीपूर्ण काम नै भएकाले निर्वाचित भएर आएका महिला सदस्यलाई जिम्मेवारी बाँडफाँट गरी काम गर्ने वातावरण दिएर अगाडि बढ्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।


उहाँले ललितपुर महानगरको २९ वडामध्ये एक वडामा पनि महिलाले वडा अध्यक्ष निर्वाचित नभएको सन्दर्भमा आगामी निर्वाचनमा कम्तीमा पनि दश जना महिला वडा अध्यक्ष बन्ने वातावरणका लागि राजनीतिक दल, समाज, परिवारले राजनीतिमा अगाडि बढ्न चाहने महिलालाई विश्वास गर्ने वातावरणको तयारी अहिलेदेखि गर्नुपर्ने बताउनुभयो ।

प्रमुख महर्जनले यस पटक पनि निर्वाचनको समयमा दलहरूको गठबन्धनको कारण प्रमुख जिम्मेवारीका लागि महिला कम विजयी भएको, परिवार, सामाजिकलगायत थुप्रै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने महिलालाई राजनीतिमा अगाडि बढ्न अवसरको मात्र खाँचो रहेको दाबी गर्नुभयो । 

ललितपुर महानगरका उपप्रमुख मञ्जली बज्राचार्य शाक्यले वडामा महिला सदस्यको जिम्मेवारी पाएका जनप्रतिनिधिले  स्थानीयको समस्या, लैङ्गिक हिंसा र उद्यम, सामाजिक विकासका सम्भावनाबारे नजिकबाट बुझ्ने अवसर पनि मिल्ने बताउनुभयो ।

उहाँले वडा महिला सदस्यको जिम्मेवारीलाई सानो नठानी वडाले पनि जिम्मेवारी बाँडफाँटसहित काम गर्ने अवसर दिएर उहाँहरूमार्फत स्थानीयको समस्या र विकासका विविध सम्भावनाबारे महानगरलाई जानकारी भए नीतिगत र बजेट व्यवस्थापन गरी सम्बोधन समेत गर्न सकिने भएकोले महिला सदस्यको सशक्तीकरणको पाटोलाई सँगसँगै अगाडि बढाउनुपर्ने  बताउनुभयो । 

संयुक्त राष्ट्र सङ्घ अन्तर्गत महिलामाथि हुने सबै प्रकारका हिंसा उन्मूलनसम्बन्धी महासन्धि (सिड) समिति सदस्य वन्दना राणाले घर, समाजका विविध जिम्मेवारीले थिचिएर पनि बाहिर निस्केर राजनीतिक सहभागिताका लागि उत्साहित भएर काम गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा साथी संस्थाका अध्यक्ष सजनी अमात्यले पितृसत्तात्मक सोचका कारण महिलालाई घरभित्रै आर्थिक पहुँचमा पछाडि पारेको छ, राजनीतिमा पनि महिलालाई जिम्मेवारी नदिने, बजेट र कार्यक्रममा पनि सहभागिता जनाउने अवसरबाट वञ्चित पार्ने संस्कारको अन्त्य हुनुपर्ने बताउनुभयो ।  

महानगरका महिला विकास महाशाखा प्रमुख महेश्वरी विष्टले स्थानीय आम नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने वडा सदस्य, महिला जनप्रतिनिधिहरूलाई सशक्तीकरण र विभिन्न विधि प्रक्रियाको बारेमा जानकारी दिन महाशाखाले जोड दिएको बताउनुभयो । 

कार्यक्रममा वडा सदस्य रञ्जु तोलङ्गीले वडामा महिला सदस्यको जिम्मेवारीमा रहेदेखि आम सर्वसाधारणले आफ्नो जुनसुकै समस्या पनि वडामा गएपछि समाधान हुने अपेक्षा राख्ने तर वडामा भने महिला सदस्यलाई जिम्मेवारी नदिने, कतै कार्यक्रममा बोलाए पनि पदको आधारमा व्यवहार गरेको देख्दा दुःख लाग्ने बताउनुभयो । दुई दिने सशक्तीकरण गोष्ठीमा ललितपुर महानगरका ३२ जना महिलाको सहभागिता छ ।