मुहारको आभा निस्तेज
दृष्टि बिस्तारै धूमिल छ ।
प्रश्नै–प्रश्नका धर्सा छन्
सायद ती गालाका चाउरीमा
निको होला भन्दा बल्झिँदैछ
बाहिर देखिँदैन मनको चोट
बुढ्यौलीमा यस्तै हुदोरहेछ कि
आफ्ना मुकदर्शक मौन ओठ ।।
रहर अनगन्ती, गर्न केही नसकिने
कतै बोझ जस्तो, कतै सहारा नभेटिने
बदलिँदोरहेछ समय, फेरिँदोरहेछ सम्बन्ध
जति आफ्नो सोच्यो उति तर्किंदै जाने ।
तातेताते गराउँदा लाग्दैनथ्यो झर्किंदै जाने ।
अब त डाँडामाथिको घाम पो भन्छन् ।
निभ्नकै लागि समय पर्खिंदै जाने ।।
एक गाँस खानकै लागि घन्टौँ पर्खेर
कतै मन्दिरमा लाम बसेझैँ बस्नुपर्छ ।
आफ्नै घर परदेश जस्तो बनेपछि त झन्
आफ्नै सन्तानको नजरमा पो खस्नुपर्छ ।
रोग, शोकको के वास्ता स्याहार छैन
नजिक सरे गन्हाउछ रे कुना पस्नुपर्छ ।
मैले भनेको पुग्ने भए भगवान्सँग
मेरो एउटा बिन्ती छ हे भगवान् !
मेरो सन्ततिलाई बूढो न बनाइदिनुस् ।
काठमाडौँ