झनझन बज्दछ प्रीतिको तार अझ बन्धन भो झनझन,
छनछन चुरा छिनछन बज्दा कायल मन भो झनझन ।
फनफन चङ्गा क्षितिजमा हेर ! चुड्छ कि प्रेमको धागो,
मनमन शङ्गा–बादल लाग्दा दिल रञ्जन भो झनझन ।
भनभन भँवरो पुष्प–रसैमा देखी ईष्र्या जाग्दछ आफैँ–
रनरन बढ्छ रात अँध्यारो, जीवन वन भो झनझन ।
तनतन सोझै रूप पिऊँ झैँ ठान्दछ मनले नित्य,
घनघन मादल मृदु घन्कन्छ पुलकित तन भो झनझन ।
फनफन भुँवरी चक्र घुमेझैँ सारा जीवन धुम्दा–
मन–मन मन्दिरतिर भुल्दा पो पिरती–धन भो झनझन ।
दनदन आगो सल्किन लाग्यो प्रेमले दिलको गाउँ,
जनजन हल्ला फैलिनु फैली अभिनन्दन भो झनझन ।
हनहन जोरो बढ्दछ नित्य चैते–आगो सल्किरहे झैँ–
झनझन रोदन ‘आमोदी’को चर्को आन्दोलन भो झनझन ।
रत्ननगर, चितवन