कपिलवस्तु समाचारदाता
कपिलवस्तु, माघ १४ गते । भैरहवाको शाहनी बिल्डर्सले समयमा काम नगर्दा वाणगङ्गा नगरपालिकाको योजना प्रभावित भएको छ। सो निर्माण कम्पनीले नगरपालिकासँग सकार गरेको योजनामा ढिलासुस्ती गर्दा स्थानीयले सास्ती खेप्नु परेको छ। बिल्डर्सले ई बिडिङमार्फत वडास्तरमा सडक कालोपत्रेको ठेक्का पाएको थियो। त्यसमध्ये अधिकांश योजना अधुरै छन्। म्याद थप गरेपछि पनि कम्पनी काम नगरी सम्पर्कमा नहुने नगरप्रमुख चक्रपाणि अर्याल बताउनुहुन्छ।
बिल्डर्सले गत आर्थिक वर्षमा सम्झौता गरेको वडा नं. ८ को बन्डौली, गन्सहवा, चप्परगाउँ सडक कालोपत्रेको काम ठप्प छ। पालिकाले काम सम्पन्न गर्न २०७९ असोज मसान्तसम्म म्याद थप गरेको थियो तर सडकको अवस्था जस्ताको त्यस्तै छ। गिट्टी, बालुवालगायतका निर्माण सामग्री सडक छेकिने गरी थुपारिएको छ। केही ठाउँमा दूबोमाथि नै कालोपत्रे गरिएको स्थानीय पीताम्बर घिमिरेले बताउनुभयो। वडा नं. ३ को ठाँटी र सिउटी–हथौसा जोड्ने सडक निर्माणसमेत अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएको वडाध्यक्ष टेकबहादुर झेडी मगरले बताउनुभयो। वडा नं. ६ मा सानो पाँचवटा खण्डमा कालोपत्रे पनि उक्त कम्पनीको ठेक्का छ तर सबै योजना अलपत्र पारेर छाडेको वडाध्यक्ष करुण टण्डनले बताउनुभयो।
बिल्डर्सले वडा नं. ११ का सडक कालोपत्रेका लागि तीनवटा सडकखण्डको ठेक्का पाएको थियो। सब बेस र बेसको काम गरेपछि ठेकेदार बाँकी काम थाती राखेर सम्पर्कविहीन भएका छन्। काम सम्पन्न होस् भनेर कार्यपालिकाबाट म्याद थप गराए पनि अलपत्र राखेर सम्पर्कमा नभएको वडाध्यक्ष नरेन्द्रप्रसाद थारूले बताउनुभयो। कम्पनीका सञ्चालक लवकुश साहनीले माघ मसान्तभित्र सबै काम सक्ने दाबी गर्नुभयो।