विजयकुमार साह
ढल्केबर, माघ १३ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरको पिडारी चोकबाट ४९३ बोतल एक्सीप्लाइन नामक लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएका प्रहरी टोलीले जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ स ०३५६ नम्बरको अटोलाई जाँच गर्दा जुटको बोराभित्र १० वटा कार्टुनमा लुकाइएको अवस्थामा सो मात्रामा लागूऔषधका बोतल भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी निरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो ।
पक्राउ पर्नेमा यसै जिल्लाको नगराइन नगरपालिका–७ बस्ने २२ वर्षीय दिलसाद नदाफ, २२ वर्षीय भरोसी यादव, २१ वर्षीय ईसराइन नदाफ र जनकपुरधाम –४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे रहेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।