ओ शकुन्तला !
तिम्रो बोल्ने रूपमा
सुन्दरता कोरिन्छ
जब चरित्र झल्किन्छ बुट्टा बनेर
तिम्रो चित्रमा
रूपसीको वर्णन गर्ने तरिकाले
प्रकृति लट्ठिन्छ लतिका बनेर
इन्द्रियहरूको प्रलोभनले स्वर्ग हल्लाउँदै
कपालमा बनेका गुलाफी केस्राहरू
आँखाको कञ्चन जल बनेर
बेगिन्छन् सागरतिर यात्रामा
फुरुक्क भएको हरिण जस्तै
मरुभूमिमा ऊँट बनेर
इनाम खोजिरहेछ तिम्रो
मोहित प्रेमले !
मैले सोचेको र खोजेको माया तिमी हौ
उजाड मुटुको अस्तित्व जोगाउन
तिमीलाई म राति सम्झन्छु
बिहान खोज्छु
मेरो प्रेम कवितामा
तिमी मेरो शब्द बन्छ्यौ
जब म सङ्गीतको धुनमा
प्रेम गीत गाउँछु तिम्रै नामको ।
यो समयको कल्पनाको संसारबाट
जहाँ तिमी छौ
म त्यतै जान खोज्छु
भत्किएका समयमा
विश्व शान्तिको पाठ पढाऊ
भोक, कलह र रोग उन्मादिएको बेला
हावामा स्नेहको फूल बर्साऊ ।
मैले सोचेको छु
समयले खोजेको कुरा हो
मेरो मायाको प्रतीक
तिम्रो फोटोमा टाँसिएको छ
अब मेरो माया तिमीलाई
कालीदासलाई जस्तै माया तिमीलाई
तिमी पुतली र मयूर बनेर
स्वर्गबाट चराहरू खेलाउन
ल्याऊ पृथ्वीमा
मलाई घुम्न लैजाऊ
टाढाको इन्द्रको बगैँचामा
भेट्छु म मेनकाहरूलाई त्यतै ।
पर्वत, पैयु
हाल : कीर्तिपुर