के भनौँ तिमीलाई
कल्पना वा यथार्थ ?
कल्पना भनौँ त यथार्थमा छौ
यथार्थ भनौँ त कल्पनामै छौ
त्यसोभए मेरो यथार्थ नै काल्पनिक हो त ?
वा तिमी ‘काल्पनिक यथार्थ’ जस्तो केही हौ ?
पूर्ण काल्पनिक भनौँ त
हरेक ऊष्ण रात्रिको अन्धकारमा
चेतनाको अगाध समुन्द्र बनेर शायद
अवतरित हुँदैनथ्यौ होला,
तिम्रो आगमनपश्चात छाएको
विराट शान्तिको मौन साक्षी छ यो हृदय...
शायद जीवनको ‘रसायन शास्त्र’
नबुझेर होला मैले
तिम्रो अस्तित्वको अझै पनि
‘सौम्य विरोध’ गरेको..
ओहो ! कस्तो अनौठो आयाम तिमी
समय जस्तै जस्तै–
जुन छैन तर सधैँ छ
जो देखिँदैन तर उपस्थित छ
आफू नभएरै प्रभावमा पार्छ
जो केवल सापेक्षिक हो, आफैँमा
अवास्तविक हो,
जसको आफ्नो छुटै अस्तित्व छैन तर
जसको अवधारणाबिना कसैको
अस्तित्व सम्भव छैन,
परिवर्तन सम्भव छैन,
अनि जीवन सम्भव छैन...
के तिमी त्यही हौ ?